
चितवन । कालीगण्डकी साहित्य परिषद्ले हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई सम्मान गरेको छ ।
कालिका नगरपालिकास्थित सिद्धिविनायक आवासीय माध्यामिक विद्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी र परिषद्का सभापति गणेश शर्मा पौडेलले संयुक्तरूपमा लुइँटेललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा हास्यव्यङ्ग्य स्रष्टा सम्मान, रचना वाचन र चिरञ्जीवी दाहालको व्यङ्ग्य निबन्ध सङ्ग्रह ‘बाघेझापु’ माथि विमर्श समेत गरिएको थियो। लुइँटेल फित्कौली डटकम अनलाइन पत्रिका, फित्कौलीको खित्कौली युट्युब च्यानल र फित्कौली द्वैमासिक पत्रिकाका सम्पादक समेत हुनुहुन्छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रेग्मीले साहित्य, कला र संस्कृतिको उन्नयनमा नगरपालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । आमोदीले तयार गरेको ‘बाघेझापु’ को समीक्षा कवि दुर्गा पौडेलले गर्नुभएको थियो । परिषद्का उपसभापति चिरञ्जीवी दाहालले हास्यव्यङ्ग्य के हो र कसरी लेखिन्छ भन्ने विषयमा पनि चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा चितवनका कवि तथा साहित्यकारहरूले हास्यव्यङ्ग्य रचना वाचन गर्नुभएको थियो । कवि केशवराज आमोदी, गजलकार ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो), र आख्यानकार गोकर्ण मल्ल विशिष्ट अतिथि हुनुहुन्थ्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

