काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठानको बाह्रौँ वार्षिकोत्सव तथा मुक्तक दिवसको अवसरमा दुई स्रष्टालाई पुरस्कृत गरिएको छ ।
२ सय २४ जना स्रष्टाका तीन–तीन वटा मुक्तकहरू समावेश गरिएको मुक्तक संग्रह ‘मुक्तक मुहिम’ लोकार्पण पनि गरिएको छ। पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भई पुरस्कार वितरण र कृति लोकार्पण गर्नुभएको थियो ।

दार्जिलिङका स्रष्टा नन्द हाङ्खिम एकाउन्न हजार रुपैयाँसहितको ‘भीमदर्शन मुक्तक पुरस्कार’ र नेपालगञ्जका स्रष्टा खगेन्द्र गिरी कोपिलालाई एकतीस हजार रुपैयाँसहितको ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ले सम्मान गरिएको थियो । पुरस्कृत स्रष्टाहरूले खुसी व्यक्त गर्दै यस पुरस्कारले आफूहरूलाई थप प्रेरणा मिलेको बताउनुभयो।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजद्वारा संयुक्त रूपमा प्रकाशित कृति ‘मुक्तक मुहिम’ को बारेमा प्रमुख अतिथि रेग्मीले थोरै शब्दमा पनि ठूलो प्रभाव पार्न सकिने मुक्तकको महत्त्वलाई उजागर गर्दै प्रतिष्ठानको कामको प्रशंसा गर्नुभएको थियो । उहाँले मुक्तक लेखनको कलाको प्रशंसा गर्दै यसले नेपाली साहित्यमा नयाँ आयाम थपेको बताउनुभयो।

प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले मुक्तकको लोकप्रियता विश्वभरि फैलिरहेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले अमेरिका, बेलायत, दक्षिण कोरिया र कोशी प्रदेश लगायत विभिन्न स्थानमा मुक्तकका शाखाहरू स्थापना भएको र मुक्तकको विकासमा सक्रिय अन्य संघसंस्थाहरूको योगदानको पनि स्मरण गर्नुभएको थियो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले २०७० सालमा पोखरामा आयोजित मुक्तक कार्यशालाको स्मरण गर्दै मुक्तकको विश्वव्यापी विकासमा प्रतिष्ठानको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले ‘मुक्तक मुहिम’ लाई नेपाली साहित्यमा गरिएको एउटा नवीन प्रयोगको रूपमा चित्रण गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरू, विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरू स्रष्टाहरूको उपस्थिति रहेको थियो। उहाँहरूले मुक्तक लेखनमा सक्रिय स्रष्टाहरूको प्रशंसा गर्दै नेपाली मुक्तकको विकासमा नेपाल मुक्तक प्रतिष्ठानको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा भीमदर्शन रोका, कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीको योगदानको पनि स्मरण गरिएको थियो ।