काठमाडौँ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले एक कार्यक्रमका बीच अग्रज साहित्यकार पवन आलोकलाई ‘लीलाध्वज स्रष्टा सम्मान’ प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार विजयध्वज थापाले आलोकलाई सम्मानका साथमा नगद दश हजार रुपैयाँ प्रदान गर्नुभएको हो ।

सम्मान ग्रहण गर्दै साहित्यकार आलोकले लीलाध्वज थापाको प्रसिद्ध उपन्यास ‘मन’मार्फत आफूले उहाँलाई चिनेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “जीवनभर साहित्यमा समर्पित एक चर्चित साहित्यकारको नामबाट स्थापित प्रतिष्ठानबाट सम्मानित हुने अवसर पाउँदा अत्यन्त खुशी लागेको छ।”

उहाँले लीलाध्वज थापाका उपन्यास, नाटक, निबन्ध र खण्डकाव्यहरू पढेको उल्लेख गर्दै ‘मन’ उपन्यासको लोकप्रियता र पाठकहरूबीचको प्रभावबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा अग्रज साहित्यकार तथा साहित्यिक पत्रकार रामप्रसाद पन्तले अतिथिहरूलाई स्वागत गर्दै सम्मानित साहित्यकार पवन आलोकको साहित्यिक यात्राबारे प्रकाश पार्नुभएको थियो भने अध्यक्ष थापाले २०२३/२०२४ सालदेखि नै उपन्यास, कथा र कविता लेखनमार्फत नेपाली भाषा साहित्यमा पवन आलोकको योगदानको चर्चा गर्नुभयो ।