काठमाडाैँ । जयन्ता-पवित्रा ढकाल स्मृति काेषले ‘प्रतीक ढकाल नियात्रा सौरभ २०८२’ सलोन कार्थकलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली नियात्रा साहित्यको विकासमा निरन्तर समर्पित भारतको कालेबुङ निवासी स्रष्टा कार्थकलाई याे पुरस्कार समर्पण गर्ने निर्णय गरेको पुरस्कार छनौट समितिका संयोजक महेश पौड्याल र सचिव भवानी खतिवडाले एक विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको हो ।

कोषले प्रत्येक वर्ष श्रीपञ्चमीको दिन निर्णय गरी अर्को वर्षको जेठ १३ गतेका दिन नियात्रा विधाका कीर्तिमानी स्रष्टाहरूलाई सुशोभन गर्दै आएको छ । पुरस्कारमा नेपाली रुपियाँ एकाउन्न हजार नगद राशिसहित अभिनन्दन र सम्मानपत्र रहेको छ ।

नेपाली र शिक्षाशास्त्र दुई विषयका स्नातकोत्तर उपाधि प्राप्त भारतको कालेबुङ निवासी कार्थकको लेखनको मूल क्षेत्र नै नियात्रा विधा हाे । हालसम्म उहाँका समुद्रवारि समुद्रपारि (१९७६), विदेशतिर रिङ्दै जाँदा (१९९६), पदयात्रा गाउँको फन्को विदेशको (२०००), विदेश एउटा पल्लो गाउँ (२०१३) र गोलार्द्ध घुमाइका रङहरू (२०१७) नियात्राकृतिहरू प्रकाशित छन् । भारतीय नेपाली साहित्यमा नियात्रा लेखेरै साहित्य अकादमी पुरस्कार विजेता बनेका उहाँ नेपाली नियात्रा साहित्यको एक उल्लेखनीय उचाइमा हुनुहुन्छ ।

वि.सं. २०७५ सालको श्रीपञ्चमीका दिन जयन्ता-पवित्रा ढकाल स्मृति कोषको स्थापना गरिएकाे थियाे । काेषले घाेषणा गरेकाे ‘प्रतीक ढकाल नियात्रा सौरभ’ पुरस्कार पहिलो पटक २०७६ सालमा डा. तारानाथ शर्मालाई समर्पण गरिएको थियो । त्यसपछि क्रमशः डा. सत्यमोहन जोशी (२०७७), देविचन्द्र श्रेष्ठ (२०७८), भुवनहरि सिग्देल (२०७९), गीता खत्री (२०८०), घनश्याम राजकर्णिकार (२०८१) लाई यो पुरस्कार समर्पण गरिसकिएको छ ।

यही सिलसिलालाई निरन्तरता दिँदै सातौँ संस्करण अर्थात् वि. सं. २०८२ को यो पुरस्कार सलोन कार्थकज्यूलाई समर्पण गर्ने निर्णय लिइएको पुरस्कार छनाैट समितिका संयाेजक महेश पाैड्यालले बताउनुभयो । प्रत्येक वर्ष जेठ १३ गतेका दिन सम्मान समर्पण गर्ने परम्परा अनुरूप नै यस वर्ष पनि जयन्ता – पवित्रा ढकाल स्मृति कोषको आर्थिक व्यवस्थापन तथा पर्वतीय साहित्य समाजको आयोजनामा काठमाडौँमै एक विशेष समारोहको आयोजना गरी यो सम्मान समर्पण गरिने उहाँको भनाइ छ।