काठमाडौं । हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले ‘ह्वाइटहाउस फेस्टिभल’ गर्नेभएको छ ।

आफ्नो २५ औँ स्थापना दिवसको उपलक्ष्यमा कार्यक्रमको आयोजना गर्न लागेको हो । तीनकुनेस्थित कलेजमा २३, २४ र २५ गते तीन दिनसम्म कार्यक्रम चल्नेछ। यो फेस्टिभलको तेस्रो संस्करण हो जसले साहित्य, कला, प्रविधि, राजनीति र समाजका विविध पक्षलाई समेट्नेछ।

कार्यक्रम संयोजक शैलेन्द्र अधिकारीका अनुसार माध्यमिक तहका विद्यार्थीहरूलाई पढाइका अतिरिक्त अन्य क्षेत्रमा पनि सहभागी गराउने उद्देश्यले यो फेस्टिभलको आयोजना गरिएको हो। विद्यार्थीहरूको प्रतिभा प्रदर्शनका साथै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूको सहभागिताले यो महोत्सव अझै विशेष बन्ने अपेक्षा गरिएको छ।

फेस्टिभलको पहिलो दिन विज्ञान तथा आइटि प्रदर्शनी, ‘मुट कोर्ट’ (कानुन विद्यार्थीहरूको नकली अदालत), विज्ञानसम्बन्धी छलफल र ‘उद्यम: कल्पनादेखि कारोबारसम्म’ शीर्षकमा पूर्व विद्यार्थीहरूसँगको अन्तर्क्रिया हुनेछ। त्रिभुवन विश्वविद्यालय कानुन संकायका सहायक डिन प्रा.डा. ज्ञानेश्वर पराजुली र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ‘मुट कोर्ट’ मा न्यायाधीशको भूमिकामा रहनेछन्। त्यस्तै, त्रिवि विज्ञान संकायका पूर्व डिन डा. विनिल अर्याल, आइटि विज्ञ डा. गजेन्द्र शर्मा, इन्जिनियर्स एशोसियेशनका अध्यक्ष सुबास चन्द्र बराल र खल्ती एपका निर्देशक अमित अग्रवाल लगायतले विद्यार्थीहरूसँग संवाद गर्नुहुनेछ ।

माघ २४ गते हुने साहित्य फेस्टिभलको उद्घाटन डा. भगवान कोइरालाको विशेष आतिथ्यमा हुनेछ। उद्घाटन सत्रमा राउटे समुदायका प्रतिनिधिहरूसँग पत्रकार दीपक सापकोटाको संवाद हुनेछ। यस दिन ‘राजनीति: विकास कि आकर्षण?’, ‘साहित्य, संगीत र अभिनय’ जस्ता विषयमा छलफल हुनेछ भने चर्चित पत्रकार ऋषि धमलाको ‘धमलाको हमला’ शीर्षकको विशेष सत्र पनि आकर्षक रहनेछ।

अन्तिम दिन माघ २५ गते न्याय, प्रविधि, खेलकुद, विकास, उद्यमशीलता, कविता वाचन र सांगीतिक प्रस्तुति जस्ता विविध कार्यक्रमहरू हुनेछन्। अर्थविद् तथा प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले नेपालको विकासबारे प्रवचन दिनेछन् भने सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले ‘न्याय र समाज’ विषयमा प्रकाश पार्नुहुनेछ । ‘एआई र भविष्य’ विषयक सत्रमा प्रविधि विज्ञहरूको अन्तरक्रिया हुनेछ। समापन अघि कविता कन्सर्ट र लाइभ ब्याण्ड म्युजिकको प्रस्तुति रहनेछ ।

कलेजले यस महोत्सवले नेपाली साहित्य, विचार, प्रविधि, संस्कृति र समसामयिक विषयहरूलाई बहसको केन्द्रमा ल्याउने र समाजमा ज्ञान र सृजनशीलताको प्रवर्धन गर्ने लक्ष्य राखेको बताएको छ। साहित्यप्रेमी, विद्यार्थी र विचारशील व्यक्तिहरूलाई महोत्सवमा सहभागी हुन कलेजले निमन्त्रणा गरेको छ।