
काठमाडौं । दिवंगत स्रष्टाहरूलाई सम्झदै सांगीतिक कार्यक्रम ‘पलेँटी’ पुनः सुरु भएको छ ।
२० वर्षदेखि नेपाल, भारत र भुटानका नेपाली संगीतकर्मीहरूको साझा थलोको रूपमा परिचित यो कार्यक्रम कोभिड महामारीपछि बन्द भएको थियो। नेपालयको प्रस्तुति र कवि तथा संगीतज्ञ आभासको संयोजनमा सञ्चालित यस कार्यक्रमले आफ्नो पुनरागमनको पहिलो प्रस्तुति कालिकास्थानस्थित नेपालयको ‘आरशाला’मा सम्पन्न गरिसकेको छ।
पुनरागमन कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, अम्बर गुरुङ, रत्नशम्शेर, प्रेमध्वज, फत्तेमान, राममान ‘तृषित’, भीम विराग, योगेश वैद्य, कुमार सुब्बा, विनोद स्याङ्देन र मीरा थापा लगायत ११ जना दिवंगत स्रष्टाका सिर्जनाहरू समावेश गरेको थियो । पलेँटीसँग आबद्ध ५६ जना प्रस्तोतामध्ये धेरैको निधन भइसकेको सन्दर्भमा यो कार्यक्रम उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रमको खाका तयार गर्ने क्रममा सबै स्रष्टाका गीतहरूमा एउटा साझा विम्बको खोजी गरिएको आयोजक संस्था नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले बताउनुभयो । सबै स्रष्टाहरूले आफ्ना रचनाहरूमा फूललाई कुनै न कुनै रूपमा उल्लेख गरेको पाइएपछि श्रद्धाञ्जलीस्वरूप फूल अर्पण गर्दै कार्यक्रमको अवधारणा तयार पारिएको हो।
यस पटकको कार्यक्रमलाई ‘गीति–निबन्ध’ विधा अन्तर्गत प्रस्तुत गरिएको थियो। प्रस्तोता आभासले दिवंगत स्रष्टा कलाकारहरूको सम्झना गर्दै उहाँहरूका रचनाहरू प्रस्तुत गरेको थियो भने गीत गायन अभिज्ञा घिमिरे र बेनुप छेत्रीले गर्नुभएको थियो । पुनर्गठित पलेँटी टोलीमा बेनुप र अभिज्ञाका साथै कृपेश लोहनी (गितार), मिलन घिमिरे (बाँसुरी), पारसमणि सुवेदी (पर्कसन), लक्ष्मीप्रसाद डंगोल (तबला) र दिनेश रेग्मी (किबोर्ड) को सहभागिता रहनुभएको थियो। कार्यक्रममा रत्नशम्शेरको ‘फूलै फूलको मौसम तिमीलाई’ बाट सुरु गरी राममान तृषितको ‘एक फूल झरेर के भो’ गीतले समापन गरिएको थियो।
कार्यक्रमका संयोजक आभासले कोभिड महामारीपछि पुनर्जीवित पलेँटीलाई निरन्तरता दिने बताउनुभएको छ । उहाँले पछिल्लो समय दार्जिलिङ लगायत पूर्वोत्तर भारतको भ्रमण गरी आगामी कार्यक्रमका लागि तयारी गरीसक्नुभएको छ । अबको प्रस्तुति दार्जिलिङका संगीतकार चन्दन लम्जेल र गायिका डेजी बराइली तथा उहाँहरूकी छोरी विमोचना लम्जेलको हुनेछ जसमा दार्जिलिङका प्रतिभाशाली कवि नोर्देन रुम्बाका रचनाहरू प्रस्तुत गरिनेछन्। यसैगरी, आगामी महिना आधुनिक नेपाली संगीतका प्रभावशाली गीतकार कालीप्रसाद रिजालका नयाँ गीतहरू प्रस्तुत हुनेछन् जसमा आभासले पनि सहकार्य गर्नेछन्। त्यसै दिन कालीप्रसाद रिजालका गीत तथा कविता समेटिएको पुस्तक पनि प्रकाशन हुनेछ।
यी आगामी कार्यक्रमहरूको टिकट बुकिङ खुला भइसकेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

