
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘भानु स्मारिका’ नामक पुस्तकको विमोचन गरिएको छ ।
ताप्लेजुङको भानु माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउँदै पुस्तकको विमोचन गर्नुभएको थियो । उहाँले भानु एल्मुनाई समाजका पदाधिकारीहरूको प्रयासको प्रशंसा गर्दै आभार व्यक्त गर्नुभएको थियो।
६ सय ६६ पृष्ठ लामो यस स्मारिकामा १ सय २६ जना लेखकहरूका लेखहरू समावेश गरिएका छन्। प्रा.डा. भट्टराईले पुस्तकको समीक्षा गर्दै यसमा भानुसँग सम्बन्धित शिक्षामूलक र रोचक संस्मरणहरू समेटिएको बताउनुभयो। उहाँले विशेषगरी काजी श्रेष्ठ, तुलाराम गुरुङ, नन्दकुमार प्रसाईं र देवराज घिमिरेका लेखहरूलाई राजनीतिक, वैचारिक र चेतनामूलक दृष्टिकोणबाट विश्लेषण गर्नुभएको थियो ।
कार्यक्रममा भानुका पूर्व विद्यार्थीहरूलाई खादा लगाएर स्वागत गरिएको थियो। तीन हप्ताभित्र १६ लाखभन्दा बढी आजीवन सदस्यता तथा सहयोग रकम संकलन भएको जानकारी दिँदै सो रकम ताप्लेजुङका विपन्न विद्यार्थीहरूका लागि अक्षयकोष स्थापनामा प्रयोग गरिने समितिको योजना रहेको छ ।
कार्यक्रममा संविधानसभाका अध्यक्ष एवम् भानुका पूर्व प्रधानाध्यापक नन्दकुमार प्रसाईं, पूर्व प्रधानाध्यापकहरू तुलाराम गुरुङ, विमला सेनेहाङ, पूर्वमन्त्री डा. भरत प्रधान, साहित्यकार तथा समीक्षक प्रा.डा. रमेश भट्टराई लगायतको उपस्थिति रहेको थियो। भानु एल्मुनाई समाजका अध्यक्ष ई. मेघेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव एवम् पुस्तकका प्रमुख सम्पादक टंक श्रेष्ठले गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

