फ्रान्स । फ्रान्सको राजधानी पेरिसमा  तामाङ समुदायको चाड २८६१ औं सोनाम ल्होछार भब्यताका साथ सम्पन्न भएको छ।

तामाङ घेदुङ फ्रान्सको आयोजनामा सम्पन्न यस सांस्कृतिक समारोहमा दर्शकहरूको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो ।

कार्यक्रममा तामाङ समुदायका महिला र पुरुषहरुले विभिन्न परम्परागत भेषभूषामा आकर्षक रूपमा प्रस्तुत हुँदै कार्यक्रमको रौनक बढाउनुभएको थियो। बिहान सबेरै तामाङ धर्म गुरु द्वारा गत बर्ष फ्रान्समा मृत्यु हुनु भएका दिवंगत आत्माहरुको चिर शान्तिको लागि पूजापाठ गरिएको थियो । विशेष आकर्षणका रूपमा परम्परागत तामाङ गीत-संगीत र नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावास फ्रान्सका महामहिम राजदूत सुधिर भट्टराईले मेन्दो माया, मैच्याङ र च्याङ्वाको सेलोलाई देशको सांस्कृतिक पहिचानको रुपमा हेरिने बताउनु भएको थियो । उहाँले यस्ता सांस्कृतिक कार्यक्रमले विदेशमा जन्मे हुर्केका पुस्तालाई नेपाल संग जोड्ने काम गर्ने उल्लेख गर्नुभएको थियो । फ्रान्समा हुने जुनसुकै कार्यक्रम राजदुताबासको पूर्ण सहयोग हुने बताउनु भएको थियो ।

कार्यक्रमको सुरुवातमा ल्होछार चाडको महत्व बारेमा सुरेश लामा तामाङले प्रकाश पार्नुभएको थियो। निशा लामाले आयोजक को तर्फ बाट उपस्थितहरुलाई नयाँ वर्ष २८६१ को शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष लोक पुन मगर, नेपाली एकता समाज फ्रान्सका संस्थापक तप्त भण्डारी, नेपाली सांस्कृतिक गृह फ्रान्सका अध्यक्ष नन्द कुमार थेवे, नेपाली जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना, साहित्यकार हरिहर अर्याल ,रक्तदान अभियन्ता प्रशान्त उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । शुभकामना मन्तव्यको क्रममा साहित्यकार उप्रेतीले तामाङ घेदुङ्ग फ्रान्सको कार्यक्रम आयोजनाको लागि आर्थिक सहयोग गर्नु हुने सामाजिक मनहरुलाइ धन्यवाद दिनुभएको थियो । उहाँले सामाजिक सद्भाव बढाउन यस संस्थाले गरेको योगदानको चर्चा गर्नुभएको थियो।

कार्यक्रममा दोस्रो पुस्ताका तामाङ युवा युवतीहरूको पनि सक्रिय सहभागिता थियो, जसले कार्यक्रममा नयाँ पुस्ताको सांस्कृतिक चासो र उत्साहलाई झल्काएको थियो । उनीहरूको उपस्थितिले तामाङ समुदायको पहिचान र मौलिकताको निरन्तरतालाई बलियो बनाएको सहभागीहरूले बताउनुभयो ।

तामाङ घेदुङ्ग फ्रान्सका अध्यक्ष मिलन लामाले ल्होछार जस्तो सांस्कृतिक चाडले समुदायलाई एकताबद्ध गर्नुका साथै नयाँ पुस्तामा आफ्नो परम्पराप्रति गर्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यो चाडले समुदायको एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको कुरा पनि उल्लेख गर्नुभयो ।

यस समारोहको सञ्चालन सुरेश डुल्छेन लामा तामाङले गर्नुभएको थियो।