
पोखरा । पोखराको अमरसिंह नमुना माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रमबाट तीन जनालाई पुरस्कृत गरेको छ ।
पोखरा महानगरपालिकाकी उप–प्रमुख मन्जु गुरुङको प्रमुख आतिथ्यतामा अन्तर्दृष्टि पुरस्कार वितरण गरिएको थियो ।
अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेका अनुसार शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपांगताप्रतिको सोच, दृष्टिकोणलगायतलाई आधार मानी दृष्टिविहीन विद्यार्थीले छनोट गरेअनुसार गण्डकी प्रदेशस्थित पोखराको अमरसिंह नमुना माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मुक्तिनाथ आचार्यलाई २० हजार रूपैयाँ र सम्मानपत्र सहित ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ प्रदान गरिएको हो ।
यसैगरी आफूसँग हातेमालो गरेका अपांगता नभएका विद्यार्थीका सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधार मानी छनोट गरेअनुसार सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीद्वय गरिमा थापा र करिना काफ्लेलाई १० हजार रूपैयाँ र सम्मानपत्र सहित ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ प्रदान गरिएको हो ।
साथै पत्रकारिताका माध्यमबाट अपांगता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाज निर्माणमा योगदान पुर्याउने पत्रकारमध्ये अनलाइन पत्रिका ‘उकेरा डटकम’मा कार्यरत पत्रकार मोनिका वाइबालाई १५ हजार र सम्मानपत्र सहित ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
समग्र विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासनलाई नै अपांगता भएका विद्यार्थीहरूप्रति सकारात्मक बनाउन सकियोस् भन्ने अभिप्रायले जुन विद्यालयका विद्यार्थी एवं शिक्षक पुरस्कृत हुनुभएको छ, सकेसम्म त्यही विद्यालयमा गएर पुरस्कार वितरण गर्ने गरिएको अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेले बताउनुभयो । ‘जहाँ समस्या छन्, त्यही तिनको निदान खोज्नु उपयुक्त हुन्छ,’ उहाँले भन्नुभयो, ”पुरस्कृत भएकाहरूलाई पुरस्कृत गर्नु मात्रै हाम्रो उद्देश्य होइन । उनीहरूमार्फत अपांगता भएकाहरूको सशक्तीकरणमा योगदान पुर्याउनु हाम्रो मूल उद्देश्य हो । ”
कार्यक्रममा पुरस्कृत शिक्षक मुक्तिनाथ आचार्यले यस पुरस्कारले आफूलाई दृष्टिविहीन विद्यार्थीको शैक्षिक विकासमा अझ बढी मिहिनेतसाथ लाग्न थप जिम्मेवारीबोध गराएको बताउनुभयो ।
यस पुरस्कारले आफू र आफू कार्यरत संस्था उकेरा डटकम परिवारलाई अझै उत्साहित बनाएको र नयाँ–नयाँ तथ्य खोजेर समाचार लेख्न प्रेरित गरेको पत्रकार मोनिका वाइबाले जनाउनुभयो ।
कार्यक्रमको विशेष अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले यस किसिमको पुरस्कारले अपांगता भएका व्यक्तिहरूप्रति शिक्षक, विद्यालय र आम–सञ्चारमाध्यमलाई थप दायित्वबोध गराएको बताउनुभयो । ”यस पुरस्कारले महानगरपालिकालाई गौरवान्वित बनाएको र अन्य शिक्षकलाई पनि अपांगता समावेशी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न अभिप्रेरित गर्न सक्ने आशा लिएको छु ” प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उप–प्रमुख मन्जु गुरुङको भनाइ छ । पुरस्कार स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै दृष्टिविहीन विद्यार्थीको क्षमतामा शंका गर्नुको सट्टा शिक्षकले समतामूलक शिक्षण विधि र क्रियाकलापको अभ्यास गरी सिकाइ प्रक्रियामा कोही नछुटून् भन्नेमा सजक हुनुपर्ने अन्तर्दृष्टि पुरस्कार समितिका संयोजक होमनाथ अर्यालले बताउनुभयो ।
अपांगताप्रति समाजमा विद्यमान नकारात्मक, विभेदपूर्ण र पूर्वाग्रही धारणा र सोचमा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित अन्तर्दृष्टि पुरस्कार हरेक वर्ष वसन्तपञ्चमीको उपलक्ष्यमा प्रदान गर्ने गरिएको छ ।
कार्यक्रम अन्तरर्दृष्टि पुरस्कार समितिकी सदस्य सरिता लामिछानेले सञ्चालन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

