वाशिङटन डिसी । साहित्यकार सीता पाण्डेको एकल कविता वाचन सम्पन्न भएको छ । पाण्डेले आफ्ना नयाँ पुराना एक दर्जन बढी कविताहरू स्थानीय थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा वाचन गर्नुभएको हो ।

कार्यक्रममा उहाँका कविताहरू कवि सुभाष उप्रेती, जगन्नाथ पौडेल, सहदेव पौडेल तथा पुष्पा खनालले पनि वाचन गर्नुभएको थियो । साहित्यकार सीता पाण्डेको परिचय प्रस्तुत गर्दै वसन्त श्रेष्ठले उहाँको साहित्यिक योगदानको चर्चा गर्नुभयो ।

साहित्यकार होमनाथ सुवेदीले सीता पाण्डेका कविताको चर्चा गर्दै उहाँ महत्त्वपूर्ण कवि भएको बताउनुभयो । प्रमुख अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरणले भन्नुभयो, ”यस्ता साहित्यिक गतिविधिहरूले नेपालको प्रतिष्ठा बढ्नेछ ।”

कार्यक्रमको शुरुमा आयोजक संस्था अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी ‘प्रेरणा’ले अतिथिहरूको स्वागत गर्दै प्रतिष्ठानले पहिलोपल्ट एकल कविता वाचन कार्यक्रमको आयोजना गरेको बताउँदै आगामी दिनमा पनि एकल कविता वाचनको शृङ्खला जारी रहने बताउनुभयो । सन् २०१४ मा स्थापित प्रतिष्ठानले वासुशशी जयन्ती, हरिभक्त कटुवाल जयन्ती, तारानाथ शर्मा स्मृति सभा, केही पुस्तकको चर्चा कार्यक्रमको आयोजना गरेको बताउँदै नेपालमा अमेरिकी दूतावाससँगको सहकार्यमा अमेरिकी कवि वाल्ट ह्विटमानको समर्पित कवि गोष्ठीको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार सीता पाण्डेलाई प्रमुख अतिथिको हातबाट सम्मान पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन कवि तारा पराजुलीले गर्नुभएको थियो ।