
काठमाडौं । वानीरा फाउन्डेशनले तीन सर्जकलाई पुरस्कृत गर्ने भएको छ । नेपाली भाषासाहित्यको सिर्जनामा छ दशक अघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको हो ।
यसै गरी चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको गौरव बढाएबापत शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेका छन् । साथै, कविता सिर्जनाका माध्यमबाट सदैव समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत कविवर कृष्ण बाउसेलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

