
काठमाडौँ । चर्चित अभिनेता राजवल्लभ कोइरालाको कवितासङ्ग्रह ‘औरा’को विमोचन भएको छ । ‘पर्खी बसे’ चलिचित्रबाट सर्वाधिक चर्चा कमाएका अभिनेता राजवल्लभ कोइरालाको औराको विमोचन काठमडाैंस्थित रेडिसन होटलमा भव्य रूपमा गरिएको हो ।
काठमाडौँमा आयोजित एक भव्य कार्यक्रममा अभिनेता कोइराला सहित कवि विप्लव प्रतीक, लेखक तथा पत्रकार अश्विनी कोइराला, पत्रकार दिलभूषण पाठक र कलाकार तथा निर्देशक दीपाश्री निरौलाले संयुक्त रूपमा कृति विमोचन गर्नुभएको हो ।
कवि प्रतीकले ‘और’ को डिजाइनको प्रशंसा गर्दै कविता सङ्ग्रहको आवरण भित्रका कविता जत्तिकै आकर्षक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ”मेरो एउटा आग्रह छ – कविता फरर…. पढेर हुँदैन । वान डे वान कविता अर्थात् एक दिनमा एउटा कविता पढे मात्र त्यो इन्जोय गर्न सकिन्छ । म तिमी (राजवल्लभ) लाई एउटा जिम्मेवारी दिन्छु, तिमी अझ जिम्मेवार भएको अर्को कविता संग्रह हेर्न चाहन्छु, तर यसको मतलब यी कविताहरू चाहिँ कमजोर छन् भन्ने होइन ।”
कलाकारी तथा निर्देशक दीपाश्री निरौलाले कलाकारका लागि हौसला र आँटको महत्त्वपूर्ण हुने बताउँदै राजवल्लभलाई हौसला प्रदान गरेकामा विप्लव प्रतीक र अश्विनी कोइरालालाई धन्यवाद दिनुभयो । त्यस्तै, पत्रकार दिलभूषण पाठकले कविता भावना मात्र नभई समय पनि भएको उल्लेख गर्नुभयो ।
अभिनेता कोइरालाले कलाकार र कवि दुवै भावुक हुने बताउँदै बन्नुभयो, “कलाकार र कवि दुवै भावुक, मेरो दुबै मन यहाँहरूको यो प्रेमले भरिएको छ । फेसबुकमा लेख्दै हाल्थेँ तर आफ्नै कविता कतिपटक अरूको वालामा लाइक गर्न पनि पुगें । ती कविता स्रोत नखुलाई राखिएका हुन्थेँ । स्रोत खुलाउन अनुरोध गर्दा वास्तै नगर्न । त्यस्तै, आफ्ना सिर्जनाहरूको संरक्षण गर्न पनि कृतिका रूपमा आएको हुँ ।”
अभिनेता कोइरालाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै औरामा संग्रहित केही कविता वाचन गर्नुभएकाे थियो ।
कार्यक्रमको सभापति समेत रहनुभएका साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले अभिनेता कोइरालाको कवित्वसँग आफू लामो समयदेखि परिचित रहेको बताउनुभयो । साथै, उहाँको कविता सङ्ग्रह आफ्नै संस्थाबाट प्रकाशन गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य आइसफल प्रोडक्सनका निर्देशक आरके पोखरेलले राख्नुभएको थियो भने कवि प्रतिक, दिलभूषण पाठक, दीपाश्री निरौला, रसिक राजलगायतले संग्रहभित्रका कविताहरू वाचन गर्नुभएको थियो ।
पुस्तकलाई शब्द मिडिया प्रा.लि. (साहित्यपोस्ट) प्रकाशनमा ल्याएको हो ।

कवि राजवल्लभ कोइराला



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

