सिलगढ़ी । डा. विशाल गोलेद्वारा लिखित अङ्ग्रेजी कथा सङ्ग्रह ‘द नाइन’ गोल्डेन बुक अवार्ड २०२५ को इम्पावरिङ्ग फिक्सन श्रेणीमा पुरस्कृत भएको छ।

सालबारीका कवि ज्ञानेन्द्र खतिवडाले भन्नुभयो ”बुक आण्ट सालबारीमा प्रकाशकका रूपमा आउनु र प्रकाशनको यति छोटो अवधिमा नै आफूले प्रकाशित गरेको कृति द नाइनले गोल्डन बुक अवार्ड पाउनु सालबारीका निम्ति उपलब्धि ठान्दछु।”

बुक आण्टसँग आबद्ध अनुवादक नरेश के शाहीले भन्नुभयो ”भारतीय नेपालीभाषी लेखक अङ्ग्रेजी साहित्यमा पुरस्कृत हुनु सिङ्गो भारतीय नेपाली समाजकै लागि एउटा गौरवको विषय हो। डा.गोलेको सफलता यस क्षेत्रका उदीयमान लेखकहरूका लागि प्रेरणाको स्रोत बनोस्, जसले चुनौतीपूर्ण,मौलिक र रुपान्तरणकारी क्षेत्रीय कथाहरू मूलधारामा लैजाने अभ्यासको प्रवर्द्धन हुन सकोस्।”

बुक आण्टको पक्षमा राजा पुनियानीले भन्नुभएको छ ”आफ्नो डेब्यु कृतिमै राष्ट्रिय स्तरको पुरस्कार हासिल गर्नु केवल कथाकार गोलेको निजी उपलब्धि होइन। यो हाम्रो क्षेत्रको उपलब्धि हो। क्षेत्रीय साहित्यले कसरी मेनस्ट्रिमको लेखनसँग समान उचाईमा उभिन सक्छ भन्ने प्रमाण समेत हो।”

अमेजन बेस्टसेलर समेत रहिसकेको यो कृतिले साहित्यको शक्ति उजागर गर्दै मानवीय अनुभवलाई नयाँ दृष्टिकोणले प्रस्तुत गरेको छ।
‘द नाइन स् स्टोरिज अफ एसिम्प्टोटिक लाइभ्स’ नौवटा छोटा कथाहरूको एक सङ्कलन हो, जसले मृगौलासम्बन्धी रोगबाट प्रभावित बिरामीहरूको जीवनबाट प्रेरणा लिएको छ। चिकित्सा ज्ञान र समृद्ध कथावाचनलाई कुशलतापूर्वक संयोजन गर्दै, पुस्तकले मानव सहनशीलता, आशा, र जीवन मरणको संघर्षका भावनात्मक पक्षहरू अन्वेषण गर्छ। नेफ्रोलोजिस्ट डा. गोलेद्वारा लिखित यो कृतिले चिकित्सा र मानवताको संगमलाई दुर्लभ दृष्टिकोणमा प्रस्तुत गर्छ।