
काठमाडौं । अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले यस वर्षको साहित्य सम्मान साहित्यकार कृष्ण धरावासी र युवा कवि स्वप्निल स्मृतिलाई प्रदान गर्ने भएको छ ।
साहित्य सम्मानबाट सम्मानित हुने धरावासी मदन पुरस्कार विजेता लेखक हुनुहुन्छ भने युवा कवि स्मृतिको ‘बाडुली र सुदूर सम्झना’ नामक कवितासंग्रह प्रकाशित छ । उहाँहरूको साहित्यिक योगदानको कदर गर्दै प्रतिष्ठानले यो सम्मान प्रदान गर्न लागेको हो ।
राजनीतिज्ञ, साहित्यकार एवं समाजसेवी नेम्बाङको स्मृतिमा स्थापित यस सम्मान र पुरस्कारको राशि ५०–५० हजार रहेको छ ।
प्रतिष्ठानले अमर नेम्बाङको छैटौं स्मृति दिवसको अवसर पारेर आगामी माघ २६ गते पाँचथरको फिदिममा एक कार्यक्रम आयोजना गरी दुवै स्रष्टालाई पुरस्कार प्रदान गर्ने जनाएको छ ।
यसैबीच, प्रतिष्ठानले छात्रवृत्ति पनि प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङका अनुसार फाल्गुनन्द– श्री जनकल्याण मावि फाकतेपमा कक्षा ११ मा अध्ययनरत अन्जना चेम्जोङ छात्रवृत्तिका लागि छनोट हुनुभएको हो ।
अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टाहरूलाई प्रोत्साहन गर्ने र विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न सहयोग गर्ने उद्देश्यले यो सम्मान तथा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

