काठमाडौँ । नेपालमा पहिलो पटक नेपाल–भारत रंग महोत्सव आयोजना हुने भएको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले  राजधानीमा पत्रकार सम्मेलन गरी माघ २३ देखि ३० गतेसम्म राष्ट्रिय नाचघरमा महोत्सव आयोजना हुने जानकारी दिएको हो।

प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय, भारतसँगको सहकार्यमा यो महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवमा नेपाल र भारतका तीन–तीन वटा नाटक प्रदर्शन गरिनेछन्। प्रतिष्ठानकी कुलपति निशा शर्माले नेपाल र भारतको संयुक्त आयोजनामा यो रंग महोत्सव पहिलो पटक भएको बताउनुभयो ।

नेपालबाट प्रदर्शन हुने नाटकहरूमा सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशनमा रहेको ‘गच्छामी’ (माघ २३), नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशनमा रहेको ‘कथा कस्तुरी’ (माघ २४), र संयोजक गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशनमा रहेको ‘जुन परिकथा मात्र होइन’ (माघ २७) रहेका छ ।

भारतबाट प्रदर्शन हुने नाटकहरूमा विजयदन देथाको लेखन तथा अजयकुमारको निर्देशनमा रहेको ‘माई री मैं का से कहूँ’ (माघ २८), मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशनमा रहेको ‘बाबुजी’ (माघ २९), र अजय शुक्लको लेखन र चितरञ्जन त्रिपाठीको निर्देशनमा रहेको ‘ताजमहलका टेन्डर’ (माघ ३०) रहेका छन्।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भु राई लगायतको उपस्थिति रहेको थियो। नेपाली र भारतीय रंगकर्मीहरूको सहकार्यमा आयोजित यो महोत्सवले दुई देशका कलाकारहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपाली रंगमञ्चलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।