काठमाडौं । ‘नेपथ्य’ पुस्तक अब डिजिटल सञ्जालबाट फैलिँदै यो सातादेखि विस्तृत पाठक घेरामा प्रवेश गर्नेभएको छ । तीन दशकभन्दा लामो अवधिदेखि प्रत्येक नेपाली युवा पुस्ताले आफ्नो ढुकढुकी बनाएर हुर्काएको नेपथ्य ब्याण्ड हालसम्म सुनिँदै आएको थियो, अब यसलाई पढ्न पनि सक्ने भएको छ ।

ब्याण्डका मियो अमृत गुरुङसँगको लामो संगतमा लेखक गिरीश गिरीले यो पुस्तक तयार पार्नुभएको हो ।

पुस्तकमा नेपथ्यको जन्म, विभिन्न कालखण्डमा यसको उन्नति र अवनतिदेखि गीतको खोजीमा गरिएका संघर्षहरूको बेलिबिस्तार पढ्न सकिन्छ । त्यसैगरि संगीतबाट आर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नहरुको जानकारी पनि यसले समेटेको छ ।

‘एउटै किताबलाई २५ रुपैयाँदेखि दुई हजार २५ रुपैयाँसम्म मूल्य राखेर प्रि अर्डर लिँदै बिक्री गर्न सफल पब्लिकेशन नेपालयको आजसम्मकै नयाँ रणनीतिले पुस्तक बजारमै हलचल ल्याउनुका साथै पाठकहरुमा पनि हुटहुटी पैदा गरिदिएको छ,’ काठमाडौँ सिभिल मलस्थित ‘बुकभर्स’का सञ्चालक मिलर श्रेष्ठ भन्नुहुन्छ, ‘पाठकहरुलाई किताबतर्फ आकर्षित गर्न नेपालयले अपनाएको यो सिर्जनशील तरिकाको प्रशंसा नगरिरहन सकिँदैन ।’

यसरी अनलाइन बिक्रीको अध्यायसँगै अब आम पाठकको घेरा समात्न देशभित्र र बाहिरका समेत पुस्तक बिक्री केन्द्रहरुमा यस किताबको प्रवेश हुनलागेको हो ।

सांगीतिक टोली ‘नेपथ्य’ र व्यवस्थापन समूह ‘नेपालय’को संगम भएको २५ वर्ष अवसर पारेर यस पुस्तकलाई ‘पब्लिकेशन नेपालय’ले प्रकाशन गरेको हो । त्यसैले यस किताबको आगमनलाई ‘२५ मय’ बनाइएको छ ।

पहिलो २५ भाग्यमानी ग्राहकलाई २५ रुपैयाँ मूल्य लिएर बिक्री सुरु गरिएको यस पुस्तकको बजारमा प्रवेश गर्ने दिन पनि दोस्रो महिना ‘फेब्रुअरी’ को पाँच तारिखलाई नै तय गरिएको छ ।

‘नेपथ्यको पुस्तक एउटा ब्याण्डको जीवनी मात्र नभई तन्नेरी सपनाहरूका संघर्षको कथा पनि भएकोले युवा पुस्ताका लागि यो प्रेरणादायी हुनसक्छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्नुहुन्छ, ‘सम्पूर्ण पाठकहरुका लागि अब प्रतीक्षाको घडी समाप्त भएको छ।’

पुस्तक बुधबार देखि बजारमा गैसकेको छ । साढे तीन सय पृष्ठको यस किताबलाई आठ सय १५ रुपैयाँ मूल्य तोकिएको छ । नेपाल बाहिर रहेका पाठकहरुको निम्ति यसलाई इबुक र अमेजनमार्फत पनि उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । अनलाइनमार्फत किताब बेचबिखनमा अग्रणी भूमिका निर्वाह गर्दैआएको थुप्रै डटकमका राजु गोतामे भन्नुहुन्छ, ‘आजसम्मै अनलाइन प्रि अर्डरबाट हामीले बेचेको सबैभन्दा धेरै किताबको रेकर्ड यस पुस्तकले राख्न सफल भइसकेको छ ।’