ललितपुर । मातृभाषाको उन्नयनमा भाषिक साहित्यिक पत्रिकाको महत्त्वपूर्ण योगदान रहेको भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको जोड ।

नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले ललितपुरस्थित कोपुण्डोलको सातोआकी भवनमा मातृभाषा साहित्यिक पत्रकारिता शतवार्षिकीको अवसर पारेर सङ्घका केन्द्रीय सचिवालय सदस्य तथा नलिस् नेपालभाषा साहित्यिक मासिकका सम्पादक नरेशवीर शाक्यले ‘मातृभाषा साहित्यिक पत्रिका (नेपालभाषा) या अवसर व हाथ्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालभाषाको साहित्यिक पत्रकारिताको इतिहास,योगदान र प्रभाव बारे कार्यपत्रमा प्रष्ट उल्लेख गर्नुभएको छ । उहाँले मातृभाषा पत्रकारिताको थालनी धर्मादित्य धर्माचार्यको सम्पादनमा १९८२ सालमा प्रकाशित नेपालभाषाको साहित्यिक पत्रिका ‘बुद्वधर्म’ बाट प्रारम्भ भएको तथ्य उजागर गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरले आफ्नो घर र परिवारमा नबोलिने र नपढिने भाषा क्रमशस् लोप हुँदै जाने सम्भावना रहेको बताउनुभयो ।उहाँले भन्नुभयो ”नेपालको मौलिक भाषा र लिपि बचाउँदै मातृभाषाको उत्थान,उत्पादन र प्रयोगमा जोड दिन सङ्घीय,प्रादेशिक र स्थानीय तीनवटै तहका सरकारले भाषा प्रशिक्षण,पाठ्यपुस्तक निर्माण र छापा वा विद्युतीय भाषिक साहित्यिक पत्रपत्रिका प्रकाशनका लागि अहमभूमिका निर्वाह गर्नुपर्छ । नयाँ पुस्तामा अङ्ग्रेजी भाषाप्रति बढ्दो अभिरूची ,अङ्ग्रेजी माध्यममै पठनपाठन हुन थालेपछि नेपाली भाषा समेत बिस्तारै खस्किन थालेको छ । १२४ वटाभन्दा बढी मातृभाषाको अवस्था झन् चिन्ताजनक छ । ती भाषालाई बचाउन तिनको उत्पादन र प्रयोग अनिवार्य छ ।”

कार्यक्रमका विशेष अतिथि प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य तथा वरिष्ठ पत्रकार शुभेच्छाविन्दु तुलाधरले उक्त कार्यपत्रमाथि आफ्नो धारणा राख्दै नेपालभाषाको भाषिक साहित्यिक पत्रकारिताको इतिहास र योगदानलाई प्रष्ट पारेको बताउनुभयो । मातृभाषाको भाषिक पत्रकारितामा नेपालभाषाको गौरवमय इतिहास रहेको उल्लेख गर्दै भाषिक पत्रकारितालाई भाषा आयोगले ओैजारको रूपमा लिनुपर्ने उहाँले जोड दिनुभयो । उहाँले अझ थप्दै भन्नुभयो ”अहिले अङ्ग्रेजी भाषाको प्रभावले गर्दा मातृभाषामा जस्तै नेपालीभाषामा समेत सङ्कट उत्पन्न हुन सक्छ ।”

कार्यक्रमका सभाध्यक्ष मोहन दुवालले मातृभाषाको उन्नयन र विकासका लागि आ आफ्नो घरपरिवारबाटै प्रयोग गर्न सिकाउन लाज मान्नु नहुने कुरामा जोड दिनुभयो । अध्यक्ष दुवालले नरेशवीर शाक्यद्वारा लिखित ‘मातृभाषा साहित्यिक पत्रिका (नेपालभाषा) या अवसर व हाथ्य’ विषयक कार्यपत्रले नेपालभाषा साहित्यिक पत्रकारिताको इतिहासलाई छर्लङ्ग पारेको बताउँदै नेपालको साहित्यिक र भाषिक पत्रकारितालाई अघि बढाउन सङ्घ प्रतिबद्ध रहेको बताउनुभयो । सङ्घले नेपालकै साहित्यिक पत्रकारिताको इतिहासलेखन कार्य गर्न लागेको स्पष्ट पार्दै साहित्यिक पत्रकारिता क्षेत्रका समस्या निरूपणका लागि निरन्तर लागि परेको बताउनुभयो ।

कार्यक्रममा सङ्घका केन्द्रीय सल्लाहकार नरेन्द्रबहादुर श्रेष्ठले उक्त कार्यपत्रमाथि चर्चा गर्दै नेपाल साहित्यिक पत्रकार सङ्घ स्थापनाभए यता साहित्यिक पत्रपत्रिकाले झेल्दै आएका समस्यालाई समाधान गराउन योगदान पुर्याएकोमा खुसी व्यक्त गर्दै आफूले पनि सक्दो सहयोग पुर्याउने बताउनुभयो ।

कार्यक्रम सन्चालन सङ्घका केन्द्रीय महासचिव तथा प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियो