
बिराटनगर । विराटनगरमा तीन पुरस्कारको स्थापना गरिएको छ । मुक्तक दिवसको अवसरमा पुरस्कार स्थापना तथा मुक्तक वाचन कार्यक्रममा उक्त पुरस्कारहरू घोषणा गरिएको हो ।
आयोजक संस्थाका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलका अनुसार अक्षयकोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष समर्पण गर्ने गरी मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित ‘नन्दलाल स्मृति साहित्य पुरस्कार’ पुरस्कार राशि रू. ११,१११/-, मनोहरि पोखरेल र बाबुराम पोखरेलबाट संयुक्त रूपमा स्थापित ‘माधव नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कार’ पुरस्कार राशि १११११/- र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट स्थापित ‘नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कार’ पुरस्कारको राशि १५०००/- रहेको छ ।
कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले अक्षयकोष स्थापनाको सन्दर्भमा मन्तव्य राख्नुभएको थियो। उहाँले भन्नुभयो, ”समाज विकासमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेकोले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगको लागि पुरस्कारहरूको स्थापना गरिएको हो ।”
त्यस्तै, संस्थापक परिवारकी सदस्य कवि नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रुपान्तरणको सशक्त हतियार भएकाले नेपाली समाजलाई सकरात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने पवित्र उदेश्यले यी पुरस्कारहरूको स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने विचार राख्दै संस्थापकहरूप्रति धन्यवाद र आयोजक संस्थालाई शुभकामना व्यक्त गर्नुभएको थियो । विशेष अतिथि नेपाल संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, अग्रज साहित्यकार बलराम पोखरेल, प्रा.डा. हरिहर भण्डारी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईँ लगायतले दाताहरूप्रति सम्मान व्यक्त गर्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।
अक्षय कोषका संस्थापकहरू मनमाया दाहाल, मनोहरि पोखरेल, सीताराम पोखरेल लगायतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा भुषण ढुङ्गेल, हरि कट्टेल, गोकुल अधिकारी, कविता केशरी, नानुमैया दाहाल, मञ्जुश्री गिरी, मञ्जु घिमिरे दाहाल, प्रिन्स प्रमोद ढकाल, प्रयाग न्यौपाने लगायतका मुक्तककारहरूले आ आफ्ना मुक्तक वाचन गर्नुभएको थियो ।
आयोजक संस्थाका सदस्य सचिव मदन भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य रोहिणी रसिकले स्वागत मन्तव्य राख्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

