
काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँ कार्यसमितिको बैठकले दुई पुरस्कारको घोषणा गरेको छ ।
प्रतिष्ठानले दार्जिलिङ निवासी साहित्यकार नन्द हाङ्खिमलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ र नेपालगञ्जनिवासी साहित्यकार खगेन्द्र गिरी कोपिलालाई ‘कृष्ण रत्न चेतन मुक्तक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि क्रमशः एकाउन्न हजार र एकतीस हजार रुपैयाँ रहेको छ ।
नन्द हाङ्खिमको ‘प्रेमालाप’ शीर्षकको मुक्तकसङ्ग्रहका साथै विभिन्न विधाका डेढ दर्जन कृति प्रकाशित छन् । भारतमा रहेर पनि नेपाली भाषासाहित्यको उन्नयनमा हाङ्खिमले विशिष्ट योगदान गर्नुभएको छ ।
यसैगरी खगेन्द्र गिरी कोपिलाका ‘डुबे पनि डुब्दैन घाम’, ‘आफ्नै छाल आफ्नै किनारा’, ‘स्वीकृत रहर’, ‘कालध्वनी’ मुक्तककृतिलगायत डेढ दर्जनकृति प्रकाशित छन् । दुवै स्रष्टाहरूले मुक्तकको उन्नयनमा गर्नुभएको योगदानका आधारमा पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।
नेपाली आधुनिक मुक्तकका प्रथम प्रयोक्ता भीमदर्शन रोका एवम् नेपाली मुक्तकका विशिष्ट साधक कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीका नाउँमा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष मुक्तककार रामकाजी कोनेद्वारा स्थापित यी दुवै पुरस्कारहरू प्रतिष्ठानको बाह्रौँ वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा आगामी माघ १८ गते शुक्रबार एक समारोहको आयोजना गरी समर्पण गरिने छ ।
सोही कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजको संयुक्त प्रकाशन रहेको नेपाली साहित्यमा कलम चलाउने अन्य विधाका स्रष्टासमेतका मुक्तकहरूको सञ्चयन कृति ‘मुक्तक मुहिम’ को लोकार्पण गरिने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

