प्रगतिशील लेखक सङ्घ, स्याङ्जाको छैटौँ जिल्ला अधिवेशन वालिङमा सम्पन्न भएको छ ‌। अधिवेशनबाट अनन्त अर्यालको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

सङ्घको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति गठन भएको हो ।

उपाध्यक्षमा शम्भु अर्याल, सचिव नाराययण लम्साल र कोषाध्यक्षमा बसन्त खनाल रहनुभएको छ । यसैगरी सदस्यहरूमा श्यामप्रसाद ढुङ्गाना, कमल बगाले, डिल्ली भण्डारी, प्रकाश न्यौपाने र पराजित रेशम गोतामे चयन हुनुभएको छ ।

नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो पूर्ण बैठकले अरु दुईजना सदस्य मनोनित गर्ने अध्यक्ष मण्डलका संयोजक डा. अच्युतशरण अर्यालले जानकारी गराउनुभयो । निर्वाचन मण्डलमा डा. अर्यालको संयोजकत्वमा सदस्यहरु हिमलाल पुरी र मणि पाठक रहनुभएको थियो ।

छैटौं अधिवेशनबाट निवर्तमान अध्यक्ष बन्नुभएका चिन्तु गिरीबाट नवनिर्वाचित अध्यक्ष अर्याललाई माइन्युट हस्तान्तरणसहित कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा अभिभावक निलकण्ठ लम्साल र शैक्षिक व्यक्तित्व दिपक लम्सालले मन्तव्य राख्नुभएको थियो ।

माइन्युट ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अर्यालले जिल्लामा क्रियाशील कवि, कथाकार एवम् लेखकहरुलाई विभिन्न कार्यक्रमहरुमा सहभागी गराई प्रगतिशील साहित्यको वृत्तिविकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।