अर्जुन प्रधान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरले कोपनहेगनमा साहित्यिक कार्यक्रम गर्दै कवि सुदर्शन पोखरेलको कवितासंग्रह ‘विश्वासमाथि उभिएर’को विमोचन गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावासकी कार्यवाहक राजदूत सावित्रा वलीले संग्रह विमोचन गर्दै प्रवासमा नेपाली भाषामा साहित्य सिर्जना र पठन संस्कृतिको अभ्यास अत्यन्तै सरहानीय कदमका भएको बताउनुभयो । कार्यवाहक राजदूत वलीले नेपाली भाषा र साहित्यले मात्र हाम्रो मौलिक पहिचानलाई जोगाएर राख्न सक्ने बताउँदै प्रवासमा यस्ता क्रियाकलापले भाषा संस्कृति र पहिचानलाई थप बलियो बनाउने धारणा राख्नुभयो ।

कार्यक्रममा विमोचित पुस्तकबारे टिप्पणी गर्दै कवि प्रकाश सापकोटाले ‘विश्वासमाथि उभिएर’मा सङ्ग्रहित कविताहरू वैचारिक, पौराणिक ज्ञान र विज्ञानको समिश्रणले भरिपूर्ण रहेको बताउनुभयो ।

संग्रहका सर्जक सुदर्शन पोखरेलले पहिलो कृति सार्वजनिक गर्न पाउँदा अत्यन्त खुशी लागेको जनाउँदै आफ्ना गद्य र पद्य कविताहरू वाचन गर्नुभयो । उहाँले यो संग्रह आफ्ना विचार र अनुभवहरूको अभिव्यक्ति भएको बताउँदै साहित्यिक यात्रा निरन्तर जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।