
काठमाडौं– साहित्यकार प्राध्यापक डा. विष्णु एस राईको ‘वासिम स्युरा’ प्रबन्ध सङ्ग्रह र ‘हतुवाओ किवा’ उपन्यास सार्वजनिक भएको छ ।
भाषाविद् प्रा.डा. नोवलकिशोर राई र इन्जिनियर उपेन्द्रनारायणसिं राईले कीर्तिपुरस्थित सेडा हलमा आयोजित समारोहमा दुइकृति सार्वजनिक गर्नुभएको हो । उमेरले ७३ वर्षीय साहित्यकार राईको यो चौधौं र पन्ध्रौं कृति हुन् । यसअघि प्रकाशित ‘सुदामा’ खण्डकाव्य, ‘नौ डाँडापारि’ नियात्रा, ‘जीवन’ कविता संग्रह, ‘पहेली’ उपन्यास, ‘जीवनका पानाहरू’ संस्मरण, ‘डाँडावारि डाँडापारि’ नियात्रा, ‘त्रितियाकी जुन’ कविता संग्रह, ‘खम्बुवानबाट हराएका सन्तानहरू’ इतिहास, नेपाली भाषाका कृति प्रकाशित छन् । यसैगरी अंग्रेजीमा ‘मार्टियर्स’ कथा सङ्ग्रह, ‘रियलिटिज्’ नाटक, ‘वेगाबन्ड भर्सेस’ कविता सङ्ग्रह र ‘गजल इन इङ्लिस’ गजलसङ्ग्रह प्रकाशित छन् । यसका अलावा भाषाविज्ञानसँग सम्बन्धित अनुसन्धानात्मक कृतिहरू रहेका छन् ।
चाम्लिङ राई भाषामा ‘वासिम स्युरा’ (अमिलो जाँड) नामक प्रबन्ध सङ्ग्रहभित्र १५ शीर्षकमा कविता तथा आलेख समेटिएका छन् । ‘किरातेश्वरका सन्तान किरात’, ‘किरात कस्तो हुन्छ <’, ‘राई हुनु भनेको के हो <’, ‘आदिवासी जनजाति र राई किराती’, ‘पहिचान’, ‘मुन्दुम’, ‘लाहुरे परम्परा’, ‘नेपालमा भाषा शिक्षा’, ‘माझकिरात भोजपुरमा दस दिन’, ‘मलाई डा. साब बनाउने गाउँ बलम्ता’ लगायत शीर्षक रहेका छन् ।
यसैगरी ‘हतुवाओ किवा’ (हतुवाको बाघ) उपन्यास माझकिरातको हतुवागढीको इतिहासलाई लिएर लेखिएको कृति हो । ‘यो पुस्तक राई शासनको इतिहास होइन प्रत्युत साहित्यको माध्यमले त्यो कालखण्डको इतिहासलाई हेर्ने प्रयास हो । हतसजाको स्थलगत भ्रमण गरेर उपन्यासका नायक अटलसिं राईको वंशजहरूसँग भेटघाट गरेको हो । इतिहास र साहित्य, सत्य घटना र कल्पनाहरूको सम्मिश्रण हो ।’ यसबारे कृतिकारले भनेका छन्– ”अठारौं शताब्दी नेपालको राई शासित स्टेटहरूमा हतुवाको आफ्नै महत्व थियो । राई शासकहरूमध्ये विजयपुरका शासक बुद्धिकर्ण राईबाहेक हतुवाका राजा अटलसिंको नाम मात्र प्रायःजसो इतिहासको किताबहरूमा उल्लेख भएको पाइन्छ, जसले हतुवा र अटलको महत्वलाई दर्शाउँछ ।”
त्यस अवसरमा कक्षा ५ मा अध्ययनरत खारुमी राई र कक्षा ६ का रायोन हाङ राईले दुई कृतिको भूमिकालाई पढेर सुनाउनुभएको थियो। पुस्तकबारे भाषाविद् पदम राईलगायतले चर्चा गर्नुभएको थियो ।
सगुण–आसारा प्रकाशनले पुस्तकलाई प्रकाशन गरेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

