
‘बाँझो माटोको गर्भमा
झरी पर्खिरहेका लाखौँ बीजहरू छन्
एउटा खडेरी
अन्त्य होइन जीवनको ।‘
टीका भाइको नवीनतम कवितासङ्ग्रह हो, काँचको पोखरी । भारतको कालेबुङ्ग निवासी कवि टीका भाइ शब्दहरूसँग खेल्न माहिर हुनुहुन्छ, उहाँको यो कवितासंग्रहमा पनि त्यस्तै काव्यिक बिम्बहरू प्रयोग गरी विगत, वर्तमान र भविष्यलाई सुन्दर रूपमा प्रस्तुत गर्नुभएको छ ।
”कवितात्मक लयलाई केवल रागात्मकता वा सामान्य संवेग वा अतिभावुकतासित जोडेर हेर्नाका साटो समकालीन कवितामा पुनः लयको सम्मानजन्य आगमन र स्थापन भइरहेछ । लय भरेर कविता लेख्नु कवि टीका भाइको पनि वैशिष्टय हो । तीव्र लयहरूका माध्यमबाट असाध्य जीवनानुभव र बोधहरू उकासिएर बाहिर निस्कन्छन्, जसरी ‘लाखौँ बीजहरू’ले एक दिन ‘खडेरी’ छेडेर जीवनलाई उत्सवमय बनाउँछन् ।”, भूमिकामा सुधीर क्षेत्री लेख्नुहुन्छ, ”प्रस्तुत कविताहरूमा लय बगेका छ, बाह्र शाब्दिक लय अनि आन्तरिक अर्थगत लय । यी लयहरूले अनुभूतिलाई अभिव्यक्क्त गर्न सघाउ पुर्याउँछन् । गीतमा कथा भनेजस्तो । गीतिमयताको आवरणले छोपिएको आख्यान भनौँ ।”
कवि टीका भाइ आफ्नो कुरामा लेख्नुहुन्छ, ”उमेरका धेरै खण्ड कविता सिर्जनाका अभ्याससित बिते । कवितासितको आकर्षण, लगाव, प्रेमसितै बेला बखतको विकर्षण अनि त्यससितका सङ्घर्षको चक्रीय निरन्तरता जस्तै भावहरू अनुभूत भए अनि भइरहने रहेछन् । वास्तवमै भन्नु हो भने, लेखिसकेर पनि खास चाहे जस्तै लेख्न नसकिरहेको वा आफूबाट मुक्त बन्न खोजिरहेका भावले ठीक अभिव्यक्ति नपाइरहेको जस्तो असहजता र असन्तुष्टिहरू आउँदै जाँदै गरिरहन्छन् । कहिले कविता मेरो क्षमताको कुरो होइन कि भन्ने नकारात्मकताले भरिएँ पनि । वास्तवमा मभित्र ठीक हिसाबले अभिव्यक्त हुन नसकिरहेका सांवेगिक भारीहरू धेरै होलान् जसलाई अन्य कसैले बोक्न वा बोकिदिन सक्ने पनि त होइनन् । मैले अभिव्यक्तिको त्यस विशिष्ट रूपको खोजी गर्नु र असन्तुष्ट नै रहनु भनेको वा मेरो सिर्जनक्षमता कमजोर रहनु हो वा मेरो महत्वाकाङ्क्षा हो वा त एकजना कविले भोग्ने आत्म–सङ्घर्षको स्वाभाविक प्रक्रिया हो । जे होस्, मेरो कमजोरीले होस्, मेरो महत्वाकांक्षाले होस्, वा आत्म– सङ्घर्षले, मलाई सधैँ कविताकै अझ नजिक लिएर गएको छ ।”
कवितासंग्रहलाई उपमा पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । ३७ थान कविता रहेको संग्रहको मूल्य भारु. २ सय र नेरु. ३ सय रूपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

