वरिष्ठ न्युरो सर्जन प्रा.डा. अर्जुनदेव भट्टको कथासंग्रह हो, कल्पनाको क्षितिजमा । संग्रहमा कथाकारले चिकित्सा पेशामा देखेका, भोगेका दृश्य तथा घटनाहरूलाई कथाको माध्यमबाट सुन्दर तरिकाले प्रस्तुत गर्नुभएको छ ।

”पुरानोलाई पूर्ण रूपमा फेर्न वा आवश्यक परिमार्जन गरेर युग सुहाउँदो पार्न निकै सबल र सक्षम हुँदो रहेछ समय । अति जब्बर जग गाडेर बसेको धर्म, सामाजिक रीतिरिवाज, दार्शनि समेतलाई समयले अनुहारै फेरिने गरेर परिमार्जित गर्दो रहेछ । जो परिमार्जित भएर पनि बिनासङ्कोच जीवनपद्धति स्वीकार गर्छन् ती अस्तित्वमा रहँदा रहेछन् । पुस्तक लेखेर मानिसको जीवनमा केही मात्रामा भने पनि परिवर्तन गर्न सहयोग पुर्याउन सकिन्छ भन्ने विश्वास गरेर मलाई पनि केही लेखेर परिवर्तनको संवाहक भई योगदान गरुँ भन्ने भावना पलायो ।”, लेखकीय मन्तव्यमा कथाकार भट्ट लेख्नुहुन्छ, ”अहिलेको नेपाली समाज निकै क्रूर, जातपातको पक्षपाती, गरीबलाई अपहेलित गर्ने, अभावग्रस्तलाई आदरभाव र मानवीय व्यवहार गर्न कन्जुस्याइँ गर्ने छ तर यस्तै समाजमा पनि कहीँ कतै मानवताको आदर नभएको भने होइन रहेछ । अझै पनि मानिसका मनमा छन्ः जो समानता, इमानदारीता, कर्म र अनुशासनको आदर गदर्छन् । समाजमा अदृश्य भएर रहेका ती एक्लादोक्ला तर उदाहरणीय व्यवहारलाई लेखनमा उतार्ने जमर्को गर्ने हिम्मत गर्न प्रायः थोरै नै अगाडि सर्दा रहेछन् । यस कथासंग्रहमा रहेको यो अभावलाई छानेर प्रस्तुत गर्ने जमर्को मैले गरेको छु, कल्पनाको क्षितिजमा ।”

त्यस्तै, पुस्तकको प्रकाशकीयमा लेखिएको छ, ”प्रस्तुत कृतिमा वरिष्ठ न्युरो सर्जनले आफ्ना पेशावरी जीवनमा भोगेका दुःखका पहाडहरूलाई कलात्मक बान्कीमा शब्दहरूमा उनेर कथाका माध्यमबाट देशका कुनाकन्दराको यथार्थलाई पस्कन सफल भएका छन् । दुःखपीडा, मायाप्रेम, डरत्रास, जीवनमरण, रोगव्याधि आदिको सूत्रात्मक वर्णनका साथै यथार्थलाई सिद्धहस्त रूपमा चिरफार गरिएको छ ।

पुस्तकलाई साझा प्रकाशनले बजारमा ल्याएको छ । १९ थान कथाहरू सङ्ग्रहित पुस्तकको मूल्य ३ सय ९५ रुपैँया रहेको छ ।