
शरण खत्री ‘मृदुलु’, भोजपुर । हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘खाइराइड’ को विद्यालयमा पठनपाठन शुरु भएको छ । विद्यालयको पाठ्यक्रममा साहित्यिक कृतिलाई अतिरिक्त अध्ययन अध्यापन गराउने व्यवस्था भएबमोजिम कक्षा ११ को नेपाली विषयअन्तर्गत भोजपुरको सिद्धेश्वर मा. वि. दावाँमा ‘खाइराइड’को पठनपाठन शुरु भएको हो ।
नेपाली साहित्यको सिङ्गै कृतिलाई विद्यालयले पहिलो पटक यसरी पठनपाठन शुरु गरेको हो । खाइराइडको अध्ययनबाट विद्यार्थीले हास्यव्यङ्ग्य साहित्य जान्ने र सिक्ने अपेक्षा विद्यालयले गरेको छ ।
प्रअ सुवासचन्द्र दाहालले भोजपुरको दावाँ गाउँमा जन्मिएर सिद्धेश्वर विद्यालयमा कक्षा ९ सम्मको अध्ययन पूरा गर्नुभएका लेखक राजेन्द्र कार्कीको खाइराइड कृति अध्ययन अध्यापन गर्न गराउन पाउनु खुशी र गर्वको कुरा भएको उल्लेख गर्नु भयो । उहाँले थप्नुभयो, ”यही दावाँ गाउँकै कतिपय स्थानहरूका बारेमा पढ्न पाउँदा विद्यार्थीहरू उत्साहित र रोमाञ्चित हुनेछन् । साथै हामी पनि यस्तै सिर्जनाहरू गर्न सक्छौं भन्ने साहस र प्रेरणा विद्यार्थीहरूमा जागृत हुनसक्नेछ । ”
फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीको ‘खाइराइड’ निबन्ध कृतिलाई काठमाडौंको डियरवाक स्कुलले अतिरिक्त पाठ्यक्रममा राखेर कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराइरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

