प्रवासमा रहेका नेपालीभाषी सर्जकहरूलाई एकताबद्ध गर्दै साहित्य, गीत र संगीतलाई संरक्षण गर्न स्थापना गरिएको ‘आप्रवासी नेपाली गीतकार संघ’ले आगामी फेब्रुअरी २, २०२५ मा वार्षिक साधारण सभा आयोजना गर्दैछ ।

प्रस्तुत छ, साहित्यपोस्ट अमेरिकी संवाददाता अर्जुन प्रधानले कार्यक्रमको उद्देश्य र भावी योजना बारे संघका अध्यक्ष हरि उप्रेतीसँग गरेको कुराकानी । यसमा  वरिष्ठ गीतकार तथा अभिनेता निर शाह र अन्य विशिष्ट व्यक्तित्वहरूको भूमिकाबारे पनि चर्चा हुनेछ ।

संगठनको उद्देश्य र प्राथमिकता के हुन् ?

– यस सङ्गठनको उद्देश्य भनेको नेपालीभाषी गीतकार र सर्जकहरूलाई साझा चौतारीमा समावेश गर्दै सृजनाहरूका माध्यमबाट साहित्यिक एकता गराउनु हो । साथै गीत संगीतको व्यावहारिक संरक्षण पनि गर्नु हो ।

कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले कसरी नाम दर्ता गर्न सक्छन् ?

– संघको वार्षिक सम्मेलन भनेको सबैको साझा हो । इच्छुक जो कोहीले समय मिलेसम्म उपस्थित जनाउन सक्नुहुनेछ । यो कार्यक्रम निःशुल्क रहेको पनि जानकारी गराउन चाहन्छु । यस सभामा सहभागी हुन भने संघको सदस्यता लिएको हुनुपर्नेछ । अन्य सांस्कृतिक र सांगीतिक प्रस्तुतिमा भने सहज रूपमा सहभागिता जनाउन सक्नुहुनेछ ।

कार्यक्रममा के-के गतिविधि हुनेछन् ?

– कार्यक्रमको मुख्य आकर्षण भनेको सांस्कृतिक र सांगीतिक प्रस्तुति नै हुनेछन् । विशेषतः वरिष्ठ गीतकार एवं चर्चित अभिनेता निर शाहको उपस्थिति अझ रोचक र आकर्षक रहनेछ ।

संघमा सदस्यता लिनका लागि प्रक्रिया र योग्यता के छ ?

– संघको सदस्यता प्राप्त गर्न संघले आफ्नो वेबसाइटमा राखेको आवेदन इच्छुक सर्जकले भर्नुपर्नेछ र सोहीअनुसार तोकिएको शुल्क संघलाई बुझाउनुपर्छ र त्यसपछि संघले सदस्यताको प्रमाणपत्र प्रदान गर्दछ । योग्यताको हकमा सर्जकले कम्तीमा तीनभन्दा बढी गीत प्रकाशन गरेको हुनु अनिवार्य छ र संगीत र गायनको हकमा पनि त्यही नियम लागू हुनेछ । सर्जक भने आप्रवासीको अवस्थामा रहेको हुनुपर्नेछ ।

संघले नयाँ सर्जक र कलाकारहरूको लागि के-के अवसर प्रदान गर्छ ?

– नयाँ सर्जकहरूलाई भने उनीहरूका सृजनालाई कसरी स्तरीय बनाउन सकिन्छ भन्ने विषयमा समयअनुकूल प्रशिक्षण दिई कसरी प्रकाशित गर्न सकिन्छ भन्ने कुरालाई दिशानिर्देश गर्ने, यदि संघसँग स्रोत भएको अवस्थामा सहयोग गरेर प्रोत्साहन गरिनेछ । साथै संघद्वारा प्रकाशन गरिने संग्रहमा नयाँ सर्जकहरूका सृजनालाई समेत समावेश गरेर प्रोत्साहन गरिनेछ ।

के कार्यक्रममा कुनै पुरस्कार, सम्मान, वा सिर्जनात्मक योगदानको मूल्याङ्कन गरिन्छ ?

– संघको भावी कार्ययोजनामा अवश्य पनि विभिन्न कार्यक्रम वा प्रतिस्पर्धाबाट उत्कृष्ट सिर्जनाको चयन गर्ने नै छ । यस कार्यक्रममा पक्कै पनि विभिन्न सर्जकहरूलाई र सक्रिय रहेर संघलाई सहयोग गर्नुहुने सबैलाई उच्च सम्मान गरिनेछ ।

आप्रवासी नेपाली सर्जकहरूलाई अझ सशक्त बनाउनका लागि के काम गर्दै हुनुहुन्छ ?

–  हामी भूटानबाट आएका छौं, नेपालबाट आएका छौं, बर्माबाट आएका छौं वा अन्य कुनै देशबाट आएका छौं, यसले भाषिक र साहित्यिक रूपमा कुनै फरक पार्दैन । हामी जुन समुदायबाट छौं र त्यसको पृष्ठभूमि र इतिहास जे छ त्यसको उच्च सम्मान गर्दै भाषिक, साहित्यिक र सांस्कृतिक एकताको नारालाई मूल सूत्र मानेर अगाडि बढ्नेछौं । तसर्थ अलग अलग समुदायलाई अलग अलग रणनीति नभई समान व्यवहार यस संघले सबैमा लागू गर्नेछ ।

कार्यक्रमको व्यवस्थापनमा सहयोग गर्न हामी के गर्न सक्छौं ?

– यो संघ गैरमुनाफा भएका कारण कार्यक्रमलाई सफल बनाउन यहाँहरू सबैको हातेमालोको प्रचुर मात्रामा खाँचो रहेको छ । म अध्यक्षको हैसियतले पनि यो महसूस गरेको छु । हामी सबैलाई कुनै पनि कार्यक्रम गर्दा आर्थिक, भौतिक र नैतिक सहयोग अपरिहार्य छ भन्ने कुरा प्रष्ट नै छ । यस बाहेक आवश्यक सामाग्री र सकेसम्म प्रचार प्रसारको पनि सहयोग उत्तिकै महत्त्वपूर्ण रहन्छ । तसर्थ यो कार्यक्रमलाई सफल बनाउन तपाईंहरूले तन, मन, वचन र धनले प्रचुर मात्रामा सहयोग गर्न सक्नुहुनेछ ।

आगामी वर्षका लागि के-के योजना बनाइएको छ ?

– संघको संरचनालाई अझ मजबूद बनाउँदै सदस्यताको विस्तार गर्ने, गीत लेखनमा समय अनुकूल विशिष्ट गीतकार वा सर्जकबाट प्रशिक्षण दिने र गीत लेखनको स्तर उन्नतिमा लग्ने, सर्जकहरूका सिर्जनालाई सङ्कलन गरी पुस्तक प्रकाशन गर्दैजाने र उनीहरूको बौद्धिक सम्पत्तिलाई संरक्षण गर्ने, सर्जकका हितका लागि विधान निर्माण गर्ने, हरेक सम्मेलनमा सर्जकको योगदानको मूल्याङ्कन गर्दै प्रोत्साहन गर्ने र भाषा-साहित्यको माध्यमबाट सम्पूर्ण नेपालभाषी मनहरूलाई एकताको सूत्रमा जोड्ने हरू यस संघका योजना हुन् ।

अनलाइन माध्यमबाट कार्यक्रमको प्रचार-प्रसार गर्न कस्तो योजना बनाइएको छ ?

– आजको प्राविधिक युगमा अनलाइन माध्यमले कुनै पनि कार्यक्रमको प्रचार प्रसारमा महत्त्वपूर्ण भूमिका हुन्छ तसर्थ यो कार्यक्रमलाई सफल बनाउन संघले पनि विभिन्न अनलाइन माध्यमको सहारा लिइरहेको छ । यहाँहरूले अहिले पनि त्यही माध्यमबाट सम्पूर्ण जानकारी प्राप्त गरिरहनुभएको छ । संघले विभिन्न अनलाइनसँग आबद्ध रहनुभएका पत्रकार मित्रहरूसँग समन्वय गरी उहाँहरूलाई संघको प्रचार प्रसार विभागमा समावेश गरी अगाडि बढ्ने योजना प्रष्ट नै छ ।

अतिथिहरूको उपस्थितिबारे पनि जानकारी दिन सक्नुहुन्छ, यो कार्यक्रम कहिले र कसरी, कति समयसम्म भइरहन्छ ?

– संघको यो पहिलो कार्यक्रममा नै प्रमुख आकर्षणको रूप नेपाली गीत-सङ्गीतको जिउँदो इतिहास एवं चर्चित अभिनेता, सफल र अब्बल चलचित्र कर्मी एवं नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष निर शाह प्रमुख अतिथिको भूमिकामा आउँदै हुनुहुन्छ जुन सिङ्गो संस्थाको लागि गौरवको कुरा रहेको छ । अन्य व्यक्तित्व गीतकार भूषण खरेल, नेपालीभाषी भूटानी समुदायका कवि तथा वरिष्ठ साहित्यकार गंगाराम लामिटारे, नेपालीभाषी भूटानी प्रथम गायक प्रताप सुब्बा विशेष अतिथिको रूपमा उपस्थित हुनुहुनेछ ।

कार्यक्रम भने आगामी फेब्रुअरी २, २०२५ आइतबारका दिन सम्पन्न हुनेछ जुन सरस्वती पूजाको दिन पर्नेछ । यसरी नै आगामी वर्षहरूमा पनि सरस्वती पूजाको दिनलाई विशेष प्राथमिकतामा राखिनेछ । यद्यपि समय प्रतिकूल भएमा सोही समयको आसपासमा सम्पन्न गरिनेछ ।

अन्तमा, शुभचिन्तकहरूलाई केही सन्देश छ भने ?

– सम्पूर्ण नेपाली साहित्यिक मनहरूलाई हामी जुन देश वा समुदायबाट भए पनि हाम्रो मौलिक पहिचान भनेको भाषासाहित्य नै हो । त्यसैले यही हाम्रो भाषासाहित्य, गीतसङ्गीतलाई संरक्षण गरौं र यही सूत्रमा बाँधिएर एकताको पहिचान निर्माण गरौं भन्न चहन्छु ।

साथै सम्पूर्ण आप्रवासी नेपाली सर्जकहरूलाई संघमा आबद्ध भई सदस्यता ग्रहण गरी शक्ति निर्माण गर्न जुटौं भन्ने कुरा हार्दिकतापूर्वक अपिल गर्न चाहन्छु ।

सबै नेपाली साहित्यकार, गीतकार, र सांस्कृतिक व्यक्तित्वलाई सहभागी हुन आग्रह गर्दछु । यो मात्र कार्यक्रम नभई प्रवासमा रहेका सर्जकहरूको पहिचान, एकता र सृजनात्मकता प्रदर्शन गर्ने अवसर हो ।