काठमाडौं । प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४९ औं स्मृति दिवस शंकर लामिछाने प्रतिष्ठानले मनाइएको छ।

बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न स्मृति दिवसमा प्रमुख अतिथि श्रेष्ठले लामिछानेको तस्वीरमा माल्यार्पण गर्दै ‘नेपाली साहित्यमा निबन्धको माध्यमबाट योगदान गर्ने स्व.लामिछाने मुर्धन्य साहित्यकारको रुपमा आफुले बुझेको’ बताउनुभयो । उहाँले भन्नुभयो ”नेपाली भाषा र साहित्यको लागि प्रदेशको तर्फबाट र व्यक्तिगत पहलमा हुनसक्ने सबै सहयोगको लागि म सदैव तयार छु ।”

प्रा.डा.सुरेन्द्र केसी ”जम्मा ४८ वर्ष बाँचेका स्व.लामिछानेले नेपाली साहित्यमा गरेको योगदान हेर्दा उमेरले केहि नहुने रहेछ भन्ने निष्कर्षमा म पुगे । लामिछानेका निबन्ध लगायतका रचना साँच्चै अब्बल छन् ।” उहाँले स्रष्टाहरुमा आजकाल मौलाउँदै गएको प्रशंसा मात्र खोज्ने प्रवृत्ति गलत भएको बताउनुभयो ।

प्रा.डा.गोविन्दमान सिंह कार्कीले शंकर लामिछानेको समग्र व्यक्तित्व र साहित्यमा उहाँको भूमिका, व्यक्तित्व र योगदानको चर्चा गर्दै भन्नुभयो ”नेपाली साहित्यमा हाइकु भित्र्याउने श्रेय लामिछानेलाई जान्छ । उनको पहिलो रचना वि.सं. २००३ सालमा छापिएको थियो । लामिछाने लेखनीमा मात्र सिमित थिएनन् । सम्पादनको भूमिकामा समेत उनको योगदान छ।”

कथाकार,साहित्यिक पत्रकार किशोर पहाडीले आफू लेखनीमा लामिछानेको पदचाप पहिल्याउँदै हिंडेको बताउँदै सशरीर नभेटेपनि उनको सफाचट बनेर हिड्ने बानीको बारेमा सुनेको बताउनुभयो । उहाँले सुनाउनुभयो ”लामिछाने विशेषाँक रुपरेखाले वि.सं. २०३३ सालमा निकालेको र आफूले पनि उहाँको बारेमा लेखेको ।”

प्रा.डा. गोपी उप्रेती, प्रतिष्ठानका संरक्षक तथा लामिछानेकी बैनी संगिता शर्मा र सविता ढुंगाना, साहित्यकार विमल भौकाजी, कवि केदार कोइराला ‘विराटनगर’, अनेसास अष्टिन च्याप्टरका पूर्व उपाध्यक्ष किशोर विश्वकर्मा पद्यमावती सिंह, शंकर भारती, प्रदीप सापकोटा, हरिश कल्पित, कृष्ण भुषाल, रुद्र थपलिया, रमेश दाहाल, ममता कार्की, धुर्व श्रेष्ठ, हरि न्यौपाने लगायतको कार्यक्रममा उपस्तिथि रहेको थियो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको थियो । उहाँले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सबैलाई स्वागत गर्नुभएको थियो ।