
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले अनेसास पुरस्कार समितिका निवर्तमान अध्यक्ष प्रा. डा. गोपी उप्रेतीको कविता कृति ‘प्रकृत्या सह जीवनम्’ लोकार्पण गरेको छ ।
कार्यक्रम च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको थियो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई हुनुहुन्थ्यो । विशिष्ट अतिथि प्रतिष्ठानका प्राज्ञ तथा काव्यविभाग प्रमुख बाबा बस्नेत हुनुहुन्थ्यो ।
अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, समालोचकद्वय डा. गीता त्रिपाठी, महेश पौड्याल, कोशी प्रदेशसभाका सांसद् माननीय मीना श्रेष्ठ, अनेसास उपाध्यक्ष सरिता अर्याल सदस्यहरु सुमन वर्षा र तारा उप्रेती विशेष अतिथिका रुपमा मञ्चासिन हुनुहुन्थ्यो । च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विरुवामा पानी हालेर समुद्घाटन गरिएको उक्त कार्यक्रममा ‘प्रकृत्या सह जीवनम’ लाई मंचासीनहरुले संयुक्तरुपमा लोकार्पण गर्नुभएको थियो । स्रष्टा उप्रेतीको परिचय कोषाध्यक्ष कमला रिसालले दिनुभएको थियो भने समालोचकद्वय त्रिपाठी र पौड्यालले पुस्तकमाथि व्यापक चर्चा गर्नुभएको थियो ।
च्याप्टरले प्रा.डा. उप्रेतीलाई माला तथा पुष्पवर्षासहित स्रष्टासम्मानपत्र अर्पण गरेको थियो । नेपाल च्याप्टरको यो परम्परा पहिलादेखि नै रहँदै आएको छ । प्रा. डा.उप्रेतीका विद्यार्थीहरु पूर्व मन्त्री विमला पौडेल लगायत प्राध्यापक डाक्टर इन्जिनियरलगायत दर्जनौँ अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । स्रष्टा उप्रेतीले कृतिका बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने साहित्यकार कृष्ण बाउसे, बिक्रम भक्त जोशीलगायतले कृतिभित्रबाट कविता वाचन गर्नुभएको थियो।
प्रमुख अतिथि राईले अमेरिका आगलागीले पिल्सिरहेको वर्तमान परिवेशमा प्रा.डा. उप्रेतीको प्रर्यावरणीय प्राकृतिक सम्पदा विनाश र यसका कारण उत्पन्न हुने परिस्थिति, बुद्ध दर्शन तथा वर्तमान विकृति आदिबारे कवितात्मक रुपमा चेतना जगाउने कृति आउनु महत्वपूर्ण कुरा रहेको बताउँदै आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल च्याप्टरका उपाध्यक्ष मञ्जिला अनिलद्वारा कार्यक्रम संचालन गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

