ललितपूर । निबन्धकार ध्रुव जोशीको आफैंलाई खोज्दै निबन्धकृतिको लोकार्पण भएको छ ।

ललितपूरमा नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा भएको एक कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेल,प्रा.डा.भरतकुमार भट्टराई,प्रकाश सायमी, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा.रामकुमार पाँडे,पवन आलोक,ध्रुव जोशी लगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।

प्रमुख अतिथि पोखरेलले जोशीका निबन्धहरु कवित्व भाव मिसिएका,कथानकताले भरिएको आफुले पाएको बताउनुभयो । उहाँले ८१ वर्षको उमेरमा पनि लेख्ने हुटहुटी हुनु निक्कै प्रशंसनिय भएको बताउनुभयो ।
कृतिबारे प्रा.डा. भरत कुमार भट्टराईले चर्चा गरेको उक्त कार्यक्रममा ललितपूर साहित्य समाजका अध्यक्ष प्रा.डा.रामकुमार पाँडे,प्रकाश सायमी,पवन आलोक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी स्रष्टा ध्रुव जोशीले निबन्धको रचना गर्भको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लेख्नु ठूलो कुरा नभएको बताउँदै लेखेर पाठकको मन जित्नु ठूलो कुरा भएको बताउनुभयो । उहाँले ध्रुव जोशीका आत्मपरक निबन्धले पाठकको मन खिच्ने देखिएको बताउनुभयो ।
समाजका केन्द्रीय सदस्य मधु पाठकको सञ्चालन गरेको उक्त कार्यक्रममा रञ्जना निरौलाले उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।