विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरको आयोजनामा भएको अन्तर सामुदायिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श उच्च माविकी छात्रा रञ्जना कोइराला प्रथम हुनुभएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा ११ सामुदायिक विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै रञ्जना प्रथम हुनुभएको हो । ‘युवा शक्ति विदेश पलायनले समाजमा पारेको असर’ शीर्षकमा आयोजित प्रतिस्पर्धामा पोखरिया माविकी छात्रा सिमरन सफल मैनाली द्वितीय, सत्यनारायण माविको छात्रा उमा न्यौपाने तृतीय हुँदा मिल्स माविका रोहित बैठाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो । साहित्यकार हरि कट्टेल र स्वीकृति रेग्मी मुनाको निर्णायक समितिले विजेताहरुको नाम घोषणा गरेको थियो । विजेता विद्यार्थीलाई क्रमशः ३ हजार ५ सय, २ हजार ५ सय, १ हजार ५ सय र ७ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेल, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापापागाईंलगायतले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष नेउपानेले विद्यालय–विद्यालयबीच र विद्यार्थी–विद्यार्थीबीच प्रतिस्पर्धी क्षमता विकासका लागि यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताउनुभयो । वडाले भौतिक विकाससँगै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा काम गरिरहेको उहाँको भनाइ थियो ।

नेउपाने प्रतिष्ठानको अध्यक्ष गंगा सुवेदीले प्रतिष्ठानले मासिक कार्यक्रमअन्तर्गत कविता वाचन, पुस्तक विमोचन, पुस्तक समीक्षासहित अतिरिक्त कार्यक्रम पनि गर्दै आएको जानकारी दिनुभयो । उहाँले यसपटकको कार्यक्रममा विद्यार्थीको विद्यालयस्तरदेखि नै पाठ्यक्रमभन्दा बाहिरको पनि ज्ञान र बोल्ने कलाको विकास होस् भन्ने उद्देश्यले अन्तर सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको प्रस्ट पार्नुभयो ।

कवि एवं पत्रकार मीनकुमार नवोदितले पाठ्यक्रमको ज्ञानसँगै बाहिरी ज्ञान पनि विद्यार्थीमा हुनु जरुरी रहेको औंल्याउनुभयो । सीपमूलक र व्यवहारिक शिक्षाले मात्रै रोजगारीका अवसर प्राप्त गर्ने उहाँको भनाइ थियो । नवोदितले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुमा बोल्ने कलाको विकास हुनुका साथै ज्ञानको भण्डारसमेत फराकिलो हुने धारणा राख्नुभयो।

प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार मासिक कार्यक्रम आयोजना गर्दै आएको महासचिव उमेश दाहालले जानकारी दिनुभयो । विराटनगर महानगर क्षेत्रभित्र ५६ वटा सामुदायिक विद्यालय छन् । प्रतिष्ठानले पहिलोपटक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेकाले ११ वटा विद्यालयलाई मात्रै सहभागिता गराएको कार्यक्रम संयोजक निर्मला कोइरालाले बताउनुभयो ।