
काठमाडौँ । कवि अर्जुनबाबु दाहालको प्रथम कविता कृति ‘हिँड्न बाँकी बाटाहरू’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । ‘कलमका साथी’ र ‘अयुर्दा अयुर्वेदिक क्लिनिक’को संयुक्त आयोजनामा आयोजित यस कार्यक्रममा उपप्राध्यापक चन्द्र ढकाल र कवि भारती न्यौपानेले कृतिमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कृतिले सामाजिक विसङ्गतिमाथि व्यङ्ग्य गरी जीवनबोधी अभिमत प्रस्तुत गरेको समीक्षकद्वयले बताउनुभयो । कविले कृतिमा सरल भाषामा गम्भीर अभिव्यक्ति दिन सफल भएको उहाँहरूको धारणा थियो ।
निबन्धकार युवराज नयाँघरे र कवि डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रममा उपप्राध्यापकद्वय निमग्ना घिमिरे र हेम भण्डारी तथा साहित्यकार शोभा शरभले कृतिमाथि पाठकीय दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य एकेडेमीका प्राज्ञ पुरु लम्साल र कवि डा. नवराज लम्सालले कवि दाहालको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो ।
मौलिकताले नै सिर्जनालाई जीवन दिने भन्दै नयाँघरेले कविको प्रशंसा गर्नुभएको थियो । ‘कलमका साथी’का अध्यक्ष गीता रेग्मीले भन्नुभयो ”सरल कविताले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्छ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

