
सिस्नुपानी नेपालका अध्यक्ष एवं हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेको हास्यव्यङ्ग्य कृति ‘दलालशाला’ प्रकाशनमा आएको छ । लेखक गाम्नागेको साठीऔँ जन्मदिनको सन्दर्भ पारेर कृतिको विमोचन झापा र दुबईमा एकसाथ गरिएको हो ।
आमाको गम्भीर अस्वस्थ्यताका कारण दुबईको भ्रमण रद्ध गरी गृहनगर गौरादहमा रहेका लेखकको परिवारले आयोजना गरेको जन्मोत्सव तथा पुस्तक विमोचन कार्यक्रममा लेखकका मातापिता र परिवारजनका सदस्यहरूको संलग्नता रहेको थियो ।
उता सप्ताहव्यापी ‘दुई थोपा हाँसो’ शीर्षकको चेतनामूलक हास्यव्यङ्ग्य कार्यक्रम लिएर संयुक्त अरव इमिरेट्स्को भ्रमणमा रहेको सिस्नुपानी नेपालको समूहले आयोजना गरेको पुस्तकको विमोचन कार्यक्रम विश्वकै अग्लो टावर बुर्ज खलिफाको १२५ औँ तलामा सम्पन्न भएको थियो ।
गाम्नागेको यो कुल एघारौँ र हास्यव्यङ्ग्यमा आठौँ कृति हो । ‘नेपाल’ पत्रिकामा लामो समय ‘झटारो’ स्तम्भ लेखेका गाम्नागेका छानिएका झटारोहरू यस पुस्तकमा सङ्ग्रहित छन् ।
पुस्तकलाई मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो । १३८ छोटा निबन्ध सङ्ग्रहित २८४ पृष्ठ रहेको पुस्तकको मूल्य पाँच सय ६५ रूपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

