
च्याउ उम्रेझैँ
उम्रिरहन्छन् राजनेताहरू
अरबौँ खरबौँ बगिरहन्छन्
हर्के, साहिँला र माहिलाका सपनाहरू
दुखिरहन्छन् कमली, बाटुली र चमेलीका जिन्दगीहरू
साँच्चै मृत्युअगि
मान्द्राभरि आश्वासनका बिस्कुन नसुकाउनेहरूले
कसैको मनमुटु नदुखाउनेहरूले
यो देश हाँकेको हेर्ने रहर छ ।
‘पुछारसिटे अभियान’ पोखराको आयोजनामा केशु शर्माको एकल कविता वाचन सम्पन्न ।
‘पुछारसिटे अभियान’को एकल कविता वाचनको दशौँ शृङ्खलामा कविता वाचक हुनुहुन्थ्यो कवि केशु शर्मा । कविले कवितामा जीवनयात्राका अनेक मोड र घुम्तीहरू सम्झिनुभयो । सम्झँदा सम्झँदै कविले घर सम्झिनुभयो, परिवार , साथीभाइ सम्झिनुभयो र सम्झिननुभयो विद्यार्थीहरू पनि ।
पचासको दशकबाट पोखरामा हुने हरेकजसो साहित्यिक कार्यक्रममा भाग लिँदै आफ्नो लेखनलाई अगाडि बढाउनु भएको उहाँ विवाहपश्चात् भने कार्यक्रममा उपस्थित हुन भ्याउनुभएन । पातलो साहित्यिक उपस्थितिका बिचमा उहाँ आफ्नो घरायसी जिम्मेवारी र पेशागत जीवनलाई अगाडि बढाउँदै जानुभयो । यी सबैका बिच पनि लेखनमा भने निरन्तरता दिई नै रहनुभयो । यसै क्रममा पोखराको मदरल्यान्ड मा.वि.मा वि.सं. २०५४ सालदेखि शिक्षिकाका रूपमा आबद्ध हुनुभयो । यही आबद्धताले उहाँलाई पोखराको सुन्दर शैक्षिक गन्तव्य बनेको मदरल्यान्ड मा.वि.मा प्राथमिक तह इन्चार्जसम्म बनायो । उहाँ हाल उक्त विद्यालयमा प्राथमिक तहको कुशल व्यवस्थापक बन्नुभएको छ ।
वि.सं. २०७० को उत्तरार्धसम्म साहित्यिक माहोलमा पातलो उपस्थिति देखाउनुभएको केशु शर्माले त्यसपछि भने आफ्नो उपस्थिति बाक्लो बनाउँदै लानुभएको छ । पछिल्लो समय उहाँ विविध साहित्यिक कार्यक्रममा उपस्थित हुँदै आउनुभएको छ । गीत, कविता, गजल लगायतका विविध साहित्यिक सिर्जनामा कलम चलाउँदै आउनुभएको उहाँ हालै पोखराको वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारकी साहित्य संयोजक चयन हुनुभएको छ ।
उहाँका कवितामा सरल शब्दमा गहन भाव प्रकट हुन्छन् । साथै उहाँका कवितामा सहरभित्रको ग्रामीण जनजीवनको यथार्थ चित्रण, देशको राजनीतिक एवम् सामाजिक विकृति विसङ्गतिमाथिको विद्रोह, प्रकृतिप्रेम, मानवतावाद, देशप्रेमको भाव ओतप्रोत भएर आएको पाइन्छ । नेपाली नारीका दुःख एवम् सङ्घर्षका अनुभूतिहरू उहाँका कविता एवम् गीतका मुख्य विशेषता बनेर आएको छ ।
यसभन्दा अगाडि प्रकट पँगेनी ‘शिव’, अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’, डा. वसन्त गौतम, डा.ईश्वरमणि अधिकारीलाई संस्थाले एकल वाचकका रूपमा मञ्चमा उभ्याइसकेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

