जीवन लामा, दोलखा । ‘विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१’ सुशीला शर्मालाई प्रदान गरिएको छ । पुरस्कार समिति दोलखाले साहित्यकार शर्मालाई दश हजार नगद राशीसहित पुरस्कृत गरेको हो ।

दोलखाका साहित्यकार तथा पत्रकार चिरञ्जीवी मास्केले जन्म दिने र कर्म दिने दुवै आमाहरुको नाममा पुरस्कार स्थापना गर्नुभएको हो । उक्त पुरस्कार यो वर्ष उपन्यास, नाटक र कथा विधामा कलम चलाउँदै आउनु भएकी साहित्यकार शर्मालाई प्रदान गरिएको संरक्षक मास्केले बताउनुभयो ।

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले संस्थाको वार्षिक उत्सवको अवसरमा कला, साहित्य, संगीत र संस्कृतिको क्षेत्रमा कलम चलाउने एक जना दोलखाली स्रष्टालाई पुरस्कृत गर्दै आएको छ । समितिले २०६८ सालदेखि निरन्तर रुपमा एक जना स्रष्टालाई नगदसहित पुरस्कृत गर्दै आएको विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्केले जानकारी दिनुभयो ।

संस्थाले १३ औं वार्षिक साधारण सभाकै अवसरमा प्रदेय नामक साहित्यिक पुस्तक पनि विमोचन गरेको छ । प्रदेय पुस्तकमा दोलखाली र अन्य स्रष्टाका लघुकथा, कविता, गजल, नियात्रा, मुक्तक, गीत लगायत विषय समेटेको छ ।

कार्यक्रम विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षता र भीमेश्वर नगरपालिका दोलखाका नगर प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङ र दोलखा संस्कृति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।