काठमाडौं– काठमाडौंको दरवारमार्गमा रहेको मधुशाला गीत गजल रेष्ट्रो एण्ड बारले यही माघ १२ गते आफ्नो १४औँ वार्षिकोत्सव विशेष सांगीतिक कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।

मधुशालाका सञ्चालकहरुमध्येका एक जोर्डन राजभण्डारीका अनुसार वार्षिकोत्सवको अवसर पारेर आगामी माघ १२ गते शनिवार लोकप्रिय गायक तथा संगीतकार राजनराज सिवाकोटी तथा गायिका मिलन नेवारले आफ्नो नयाँ ब्याण्डसहित लाइभ कन्सर्ट दिने हुनुभएको छ ।

सञ्चालक राजभण्डारीका अनुसार लाइभ ब्याण्डसहित प्रस्तुत हुने राजनराज सिवोकोटी तथा मिलन नेवारले आफ्ना लोकप्रिय यूगलहरुको साथमा आ–आफ्ना लोकप्रिय एकल गीतहरुसमेत प्रस्तुत गर्नुहुनेछ ।

मधुशालाका अर्का सञ्चालक अमित श्रेष्ठका अनुसार मधुशाला गीत गजलमा यो जनवरी महिनालाई नै ‘एनिभर्सरी मन्थ’ को रुपमा सेलिब्रेट गरिँदैछ । यसअनुसार यही जनवरी २३ सम्म यो रेष्टुराँमा ग्राहकहरुले खानामा १५ प्रतिशतको छूट पाउनुहुनेछ । अत्यन्त आकर्षक सजावट, लोभलाग्दो एम्बियन्स तथा स्वादिष्ट परिकारका लागि ग्राहकमाझ परिचित मधुशाला गीत गजलको १४औं वार्षिकोत्सवलाई भव्य बनाउनका लागि राजनराज तथा मिलन नेवारले आफ्नो तर्फबाट तयारी थालिसकेको बताउनुभएको छ । उक्त कार्यक्रममार्फत राजनराज तथा मिलनले आफ्नो नयाँ ब्याण्डको घोषणा गर्नुहुनेछ । वार्षिकोत्सव विशेष कार्यक्रममा मधुशालाको हाउस ब्याण्डले समेत उहाँहरुलाई साथ दिनुहुनेछ ।

मधुशाला गीत गजलका अध्यक्ष गंगाराज राईका अनुसार अधिकांश ग्राहकहरुले यो रेष्टुराँको खाना तथा सेवा विशेष रुचाइरहेकोमा १४औं वार्षिकोत्सव समारोह अझ भव्य तरिकाले आयोजना गरिँदैछ । राईका अनुसार लोकप्रिय कार्यक्रम प्रस्तोता सुशील नेपालले सञ्चालन गर्ने वार्षिकोत्सव कार्यक्रममा विभिन्न सेलिब्रेटीहरुले पनि सहभागिता जनाउँदैहुनुहुन्छ ।