अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी मेट्रो च्याप्टरको आयोजनामा ३४ औँ अनेसास दिवस मनाइएको छ ।

संस्थापक होमनाथ सुवेदीलाई अभिनन्दन गरी मनाइएको सो कार्यक्रममा तीन कृतिहरूको लोकार्पण गरिएको छ । कवि राम अधिकारीको कवितासङ्ग्रह ‘सपना र छायाहरू’ साहित्यकार होमनाथ सुवेदीको ‘नन्दा’ शोककाव्यको भिडियो संस्करण र पत्रकार एवम् प्राध्यापक पुरुषोत्तम दाहालको ‘शान्ता’ उपन्यास लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै दाहालले मुलुकबाहिर बस्ने नेपाली नेपालको गहना नभएर धुकधुकी भएको भनाइ राख्नुभयो । नेपालीहरू संसारका अनेक मुलुकमा पुगेर साना साना नेपाल बनाउँदै आफ्नो जीवनयापन गर्दै नेपाललाई बलियो बनाएको बताउँदै अवको दुनियामा विश्वको जुनसकै कुनामा बस्न सकिने जनाउनुभयो ।

विशिष्ट व्यक्तित्वको रूपमा सम्मानित भएका साहित्यकार तथा अनेसासका संस्थापक होमनाथ सुवेदीले अनेसास नेपाली भाषा, साहित्य, कला, सँस्कृति, सभ्यता र शिक्षालाई विश्वभर फैलाउने विशाल संस्था बनेको भन्दै यसलाई अनेसासमा लागिरहेका व्यक्तिहरूको जिम्मेवारी हुने भनाइ राख्नुभयो ।

विशिष्ट अतिथिको रूपमा बोल्दै अनेसास केन्द्रका उपाध्यक्ष सुदीपभद्र खनालले हाम्रा सन्ततिहरूलाई नेपाल र नेपाली भाषाबारे जानकारी गराउनु हाम्रो कर्तव्य हुने बताउनुभयो । ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको समीक्षकको रूपमा बोल्दै अनेसास पुरस्कारसमिति संयोजक तथा बीओटी उपसभापति तीर्थ पाण्डेले कृतिले आञ्चलिकता प्रस्तुत गर्न खोजेको र कृतिमा केही सीमाहरू रहे पनि अधिकांश सबल कविताहरू समावेश रहेको जनाउनुभयो ।

बीओटी सचिव तथा समीक्षक नारायण अधिकारीले उक्त कृतिको समीक्षा गर्दै सङ्ग्रहमा छोटा र लामा दुवै आकारका शक्तिशाली कविताहरू रहेको, कविले स्वदेश र विदेशका अवस्थालाई काम गरेको तर भाषिक रूपमा केही त्रुटिहरू देखिएको बताउनुभयो ।

अनेसासका पूर्व अध्यक्ष तथा बीओटी सल्लाहकार पुरु सुवेदीले ‘नन्दा’ काव्य नेपाली काव्यजगतमा नयाँपन लिएर देखापरेको जनाउनुभयो ।