नेपाल-फ्रान्स दैत्य सम्बन्धको ७५ औं वार्षिकोत्वसको अवसरमा नेपाली तथा फ्रेन्च पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पेरिसमा भएको उक्त कार्यक्रमलाई साहित्यपोस्ट र नेपाल फ्रान्स मैत्री सङ्घले आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूत महामहिम सुधिर भट्टराईज्यू, पूर्व फ्रान्सेली राजदूत मार्टिन बेसोरो, एभ्री शहरका नगर प्रमुख स्टेफान बोधे, नगर प्रहरी प्रमुख फिलिप पुपो, सेन्ट सुल्पीसका नगर प्रमुख पियरमाजु, फ्रेन्च महिला सगरमाथा पर्वतारोही नाताली लामुरु लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भट्टराईले फ्रान्सेली समुदायलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो भने नेपाल फ्रान्स मैत्री सङ्घका अध्यक्ष विनोद खकुरेलले दुई देशबीचको सम्बन्धको महत्त्वबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा १४ पटक सगरमाथा आरोहण गरिसक्नुभएका नेपाली पर्वतारोही पासाङ नुरु, एनआरएनए फ्रान्सका महासचीव महेन्द्र अधिकारी, फ्रान्सका अध्यक्ष आभास आचार्य, पत्रकार प्रकाश सापकोटा, नेवागुठी फ्रान्सका अध्यक्ष दीपक महर्जन लगायतको उपस्थिति थियो ।

पत्रकार दीपक सापकोटा र प्रशान्त उप्रेतिले शैलेन्द्र अधिकारीको ‘अर्हत्’ र डिबी सिकारुको ‘योवन हराएको मान्छे’ कवितासंग्रहमाथि गहन चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा फ्रान्समा रहेर नेपाली समुदायलाई विशिष्ट योगदान गर्नुभएका कवीन्द्र अमात्य, लेखक हरिहर अर्याल, फ्रेन्च लेखक जो फस्वा मोनो नातासा, देकोन किक र अश्लेम बुलाई दोसल्ला ‍ओढाएर विशेष सम्मान गरिएको थियो ।

नेपाली तथा फ्रेन्च गायकहरूको सांगीतिक प्रस्तुति र साहित्यिक रचना वाचनले कार्यक्रमलाई अझ विशेष बनाएको थियो ।

कार्यक्रममा भौतिक रूपमा अनुपस्थित रहनुभएका लेखक अधिकारी र डिबी सिकारु तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।