बङ्गलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट सात साहित्यकार सहभागी हुनुभएको छ । बङ्गलादेशको पबना जिल्लाको इसर्दीमा जनवरी १० र ११ मा समेलन सम्पन्न भएको उक्त सम्मेलनमा साहित्यकारहरूले सहभागिता जनाउनुभएको हो ।

साहित्य तथा सामाजिक संस्था नुङ्गुरद्वारा आयोजित सो सम्मेलनमा नेपालसँगै भारत लगायतका विभिन्न देशका साहित्यकारले सहभागिता जनाएउनुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र सम्मेलनका प्रमुख संयोजक प्रा. हसतनुजमानले संयुक्त रूपमा बङ्गलादेशको झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

नेपालबाट सहभागी डा. धनप्रसाद सुवेदी, डा. टीकाराम उदासी, केशरी अम्गाई, शान्ता दाहाल, इन्द्रबहादुर चौधरी, राजकुमारी कुँवर र विमला खनालले कविता सुनाउनु भयो ।

उक्त सम्मेलनमा काव्य,कल्पना,भाव र अनुभूति , विश्वको सांस्कृतिक अन्तर सम्बन्ध र साना जातीय समूहको भाषिक र सांस्कृतिक सङ्कट समाधानका लागि हाम्रो उत्तरदायित्व विषयमा प्राज्ञिक विमर्श गरिएको थियो । त्यसैगरी विभिन्न पुस्तकको विमोचनसहित विभिन्न कलाकारले आफ्ना सांस्कृतिक कला प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा विभिन्न विधामा योगदान पुऱ्याउने साहित्यकारलाई सम्मान गरिएको थियो ।

सम्मेलनमा माणिक पण्डित, डा. साहिदा खातुन, प्रा. अब्दुद दाइन सरकार, प्रा.डा. मिर हुमायु कविर, प्रा.डा. शिखा सरकार, प्रा डा. शेख रजिकुल इस्लाम, हुमायु कविर घाली, प्रा.ङा फहजुल रहमान , प्रा. सुजिदुल इस्लाम, प्रा अकतर हुसैन, युनिस उदुम अहमद, लुफ्टर रहमान पन्जाब, लगायतको सहभागिता थियो ।

कार्यक्रमको दोस्रो दिन विदेशी पाहुनालाई हार्डिङ ब्रिज, रविन्द्र कुटी विहार, पद्मा घाट, लालन साधुको समाधिस्थल आदि पर्यटकीय स्थलको भ्रमण गराइएको थियो ।