कवि राम अधिकारीको पहिलो कविताकृति ‘सपना र छायाहरू’ अनेसास दिवस जनवरी ११ को अवसरमा भर्जिनियामा लोकार्पण गरिएको छ ।

अनेसासको उक्त कार्यक्रममा कृतिको लोकार्पण प्रमुख अतिथि पुरुषोत्तम दाहाल, अनेसास केन्द्रका उपाध्यक्ष सुदीपभद्र खनाल, अनेसास संस्थापक अध्यक्ष होमनाथ सुवेदी, कल्पलता द्वैमासिकका सम्पादक घन थापा र कवि अधिकारीले संयुक्त रूपमा गर्नुभएको हो ।

कार्यक्रममा कृतिको समीक्षा कवि तथा साहित्यकार नारायण अधिकारी र अनेसास बिओटी तथा पुरस्कार समितिका अध्यक्ष तीर्थ पाण्डेले गर्नुभएको थियो । समीक्षक अधिकारीले बोल्दै कार्यक्रममा बोल्दै भन्नुभयो – ”कवि अधिकारीले कृतिमा नेपाल र अमेरिका बसाइका भोगाइलाई समेट्नुभएको छ । कविताहरू केही दार्शनिक र छोटा छन् भने कतै वर्णनात्मक शैली प्रयोग गरिएको पाइन्छ ।”

अर्का समालोचक तीर्थ पाण्डेले कृतिमा धेरै नेपाली समाजका विषयवस्तु र केही विदेशी जीवन भोगाइका विषयवस्तु समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कविका धेरै कविताहरूले आञ्चलिक विषयवस्तु र सन्दर्भ उठान गरे पनि भाषिक र भाषिका तथा स्थानीयपनको कवितामा अभाव रहेको छ ।”

सोही अवसरमा भीम शाही, प्रकाश नेपाल र कल्पना सुवेदीले कृतिबाट केही कविताहरू वाचन गर्नुभएको थियो । साथै, उक्त कार्यक्रममा अनेसास दिवसको अवसर पारेर संस्थाका सस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई सम्मान गरिएको थियो ।

यसअघि शब्द मिडीयाले प्रकाशन गरेको उक्त कृर्तिको विमोचन नेपालमा भएको थियो।