
कोहलपुरमा ‘बदलिंदो थारू समाज र साहित्य’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले कोहलपुर नगरपालिका वडा नं ५, ६ मा रहेको पुरानो थारू बस्ती रझेनामा समुदायको नयाँ वर्ष माघी पर्व तथा राष्ट्रिय एकता दिवसको अवसर पारी उक्त कार्यक्रम आयोजना गरेको हो ।
साहित्य केवल साहित्यकारको मात्र सरोरकारको विषय होइन,साहित्य समाजकै सम्पत्ति र सरोरकारको विषय भएकाले साहित्य र समाजको सम्बन्धका व्यावहारिक पक्षहरूलाई देखाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष पुष्कर रिजालले बताउनुभयो ।
प्रदेशसभा सांसद सन्जु थारूले साहित्यिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रझेना गाउँमा आएर पूर्णिमाले गरेको कार्यक्रम बौद्धिक र ऐतिहासिक रहेको बताउनुभयो । कार्यक्रममा कार्यपत्रमार्फत् थारू साहित्यको इतिहास र वर्तमानबारे डा. कृष्णराज सर्वहारीले प्रकाश पार्नुभयो, ”पहाडी मूलका लेखकले थारू भाषा र साहित्यमा सक्रियता देखाउने तर थारू लेखकले अपेक्षाकृत नलेख्नु दुःखलाग्दो विषय हो ।”
डा. राजकुमार थारूले थारू मौलिक संस्कृतिको महत्व नयाँ पुस्तालाई सिकाउनु जरूरी भएको बताउनुभयो ।
टिप्पणीकार शेखर दहितले भन्नुभयो, ”कार्यक्रम गुणात्मक महत्वको रहेको भन्दै विश्वव्यापीकरण र समयका माग अनुसार विकास र परिवर्तन हुने भए पनि संस्कृति नै मौलिक पहिचान हो।”
कार्यक्रममा वडा अध्यक्षद्वय दिपेन्द्र श्रेष्ठ र श्रीकृष्ण थारूले साहित्य र समाजको संरक्षण र विकास नै सही विकास रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा प्राज्ञ महानन्द ढकालले अर्थपूण कार्यक्रमको आयोजना गरेकोमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरलाई धन्यवाद दिनुभएको थियो।
उक्त अवसरमा थारु नृत्य तथा सांस्कृतिक गायन प्रस्तुत गरिएको थियो । सम्पूर्ण आमन्त्रित महानुभावलाई थारूहरूको लोकप्रिय खाना ढिकरी र कचालु (अचार) नास्ताको रुपमा खुवाइएको थियो । प्रकाश मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता पुष्कर रिजालले गर्नुभएको थियो भने सञ्चालन प्रतिष्ठानका सचिव केशव निमेषको रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

