
डिजी शर्मा, जापान ।
लामो समयदेखि सञ्जालन हुँदै आएको ‘फोटोमा मुक्तक प्रतियोगिता’ को २०० औँ शृङ्खलाको नतिजा सार्वजनिक भएको छ ।
गत पुस ८ गते सोमबारदेखि पुस १३ गते शनिबारसम्म सञ्चालन भएको प्रतियोगितामा प्राप्त भएका १ सय ९० जना मध्येबाट उत्कृष्ट ५ जना मुक्तककारहरुको नाम सार्वजनिक गरिएको हो ।
मुक्तकालय नेपालको आयोजनामा सम्पन्न ‘दोहोरो शतक विशेषाङ्क’ मुक्तक प्रतियोगितामा मुक्तककार आर.पी.सी. संगम प्रथम हुनुभएको छ । त्यसैगरी प्रतियोगितामा मुक्तककारद्वय चन्द्रकुमारी दाहाल दोस्रो र मानबहादुर राईले तृतीय स्थान हाँसिल गर्नुभएको छ । त्यस्तै मुक्तककारद्वय रोशन आपगाई र नरेश स्टोनले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।
विजेता मुक्तककारहरुलाई नगद पुरस्कारसहित डिजिटल प्रमाणपत्र प्रदान गरिएको छ । आगामी वैशाखमा मुक्तकालय नेपालको वार्षिक उत्सवका अवसरमा आयोजना गरिने कार्यक्रममा ती प्रमाणपत्र पुनः वितरण गरिने आयोजक मुक्तकालय नेपालका संरक्षक सुनिल अधिकारीले जानकारी गराउनुभयो ।
प्रतियोगिताको निर्णायकमा मुक्तककारद्वय सौरव कारन्जित र बिमल झा रहनुभएको थियो । आयोजकको तर्फबाट उहाँहरुलाई पनि सम्मानपत्र प्रदान गरिएको छ ।
पछिल्लो साढे चार वर्षदेखि मुक्तककार सुनिल अधिकारीको व्यक्तिगत प्रयासमा सञ्चालन हुँदै आएको ‘फोटोमा मुक्तक प्रतियोगिता’ लाई अहिले भने मुक्तकालय नेपालले आयोजना गर्दैआएको छ । मुक्तककार निलाञ्जला भारद्वाजको अध्यक्षतामा गत बैशाखमा मुक्तकालय नेपालको स्थापना भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

