
आनन्दआश्रम ज्ञान केन्द्र‚ आँधीखोलामा आमा कवितासंग्रह विमोचन भएको छ ।
फापरथुम‚ स्याङ्जाको आनन्द भवनमा मासिक रूपमा नियमित सञ्चालन हुँदै आएको‚ साहित्यिक तथा वैचारिक गोष्ठीको तेइसौँ अध्यायमा सार्वजनिक गरिएको कवितासंग्रह सूर्य जिटी‚ विनिता जिटी‚ सविन जिटी र सचिन जिटीले मिलिजुलि सिर्जना गर्नु भएको हो ।
आनन्दआश्रम ज्ञान केन्द्रद्वारा आयोजित उक्त समारोहको सभापतित्त्व संस्थाका सल्लाहकार जगन्नाथ सापकोटाले गर्नु भएको थियो भने सदस्य ख्यामनारायण न्यौपानेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो। प्रमुख अतिथि कवि चिन्तु गिरीकाले मानिसको मृत्यु हुन्छ । जन्मेजति सबैको मरण हुन्छ । यो प्राकृतिक नियम हो । सिर्जनाले मात्र मानिसलाई अमर बनाउँछ । शारीरिक रूपमा हामीसँग नभए पनि सिर्जना र सिर्जनाकारहरू पुस्ताका पुस्तासम्म हाम्रो मनमुटुमा जीवित रहने बताउनुभयो ।
कवितासंग्रह र त्यसमा समावेश भएका कविताहरूमाथि विवेचना गर्ने काम कवि तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हिमलाल पुरीले गर्नु भएको थियो । साथमा सिर्जनाकारहरूलाई बधाई ज्ञापन गरी उत्तरोत्तर प्रगतिको कामना गर्नेमा संस्थाका संस्थापक संरक्षक त्रिलोचन ढकाल‚ देवी सापकोटा‚ वडा सदस्य लक्ष्मीदाश गहतराज र जीवन ढकाल‚ त्रिविविका सहप्राध्यापक शारदा शर्मा‚ डा. ऋषिराम ढकाल र टिकाराम नेपालीहरू हुनुहुन्थ्यो । काव्यगोष्ठीमा देवी सापकोटा‚ लक्ष्मीदाश गहतराज र सविन जिटीले सारगर्भित कविताहरू वाचन गर्नु भएको थियो ।
सर्जक सूर्य जिटी र सबिन जिटीले कविताहरूसमेत पढ्दै कवितासंग्रहको रचना र प्रकाशनका सम्बन्धमा मन्तव्य दिनु भएको थियो । साथमा आनन्दआश्रम ज्ञान केन्द्रले‚ पुस्तक प्रकाशन गरेर सार्वजनिक गर्नु भएकोमा हार्दिक बधाई दिँदै रचनाकारहरू चारैजनालाई मञ्चमा सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव दोलराज ढकालले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

