
काठमाडौं । माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघुचलचित्र निर्माण भएको छ । ‘एक जोर जुत्ता’ कथाका लेखक महेशविक्रम शाह रहनुभएको छ । आफू विदेश यात्रामा रहँदा भएको यथार्थ घटनामा आधारित भएर लेखिएको कथा ‘एक जोर जुत्ता’ कथामा चलचित्र निर्माण हुँदा शाहले खुशी व्यक्त गर्नुभयो ।
लघुचलचित्र ‘एक जोर जुत्ता’ मा श्रमिका लुइँटेल, सुरज पराजुली, रामबाबु रेग्मी, गीताश्री थापा, समिरा थापा, सितास्मा खड्का, सहदेव बस्नेत र राजु कारंजितको अभिनय रहेको छ । ऐना आर्टसको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्रलाई नारायण जिसीले छायांकन गर्नुभएको हो । कला निर्देशन सुमित राई र निर्माण व्यवस्थापन कविर शाक्यले गर्नुभएको छ । छायांकनअघि मुन क्रियशन फिल्म एकेडेमीमा कार्यशाला गरिएको लघुचलचित्रलाई अनिल कुमार महर्जनले रंग संयोजन तथा सम्पादन गर्नुभएको हो ।
लघुचलचित्रको निर्माणसँगै कास्टिङ डिरेक्सन रंगकर्मी सुरेन्द्र क्षेत्रीले गर्नुभएको हो । बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत क्षेत्री काठमाडौंका विभिन्न स्कूलहरुमा पनि नाटक प्रशिक्षण गर्दै आईरहनुभएको छ । अहिले विद्यालयहरुमा पढाउने तरिका नै परिवर्तन भईरहेको अवस्थामा विद्यार्थीहरुका लागि कथा बुझ्न अझ सहज होस् भन्ने हेतुले लघुचलचित्र निर्माण गरिएको निर्माता क्षेत्री बताउँनुहुन्छ । उहाँले निर्माण गरेको लघुचलचित्र ‘द स्कुल वाल’ले रसियामा उत्कृष्ट अवार्डसमेत प्राप्त गरेको थियो ।
लघुचलचित्र ‘एक जोर जुत्ता’ को पटकथा तथा निर्देशन मोहन अभिलाषीले गर्नुभएको छ । उहाँको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘पाउलो’, ‘द स्कूल वाल’ ले विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्डसमेत प्राप्त गरेको थियो । पछिल्लो समय उहाँले लघुचलचित्र ‘दृश्य’ निर्माण गरेसँगै ठूलो पर्दाको चलचित्र निर्माणको तयारीमा लाग्नुभएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

