कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीले कार्यक्रमको आयोजना गरेको छ ।
ह्वाइट माउन्टेन स्कुल टोखा–६, काठमाडौंमा आयोजित कार्यक्रममा लेखनाथ पौड्यालका कविता साधना सम्बन्धी चर्चा, जीवनी, रचना पाठ तथा कविता वाचन गरिएको थियो । साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कवि प्रा. नारायणप्रसाद कट्टेल प्रमुख अतिथि हुनुहुन्थ्यो । कविशिरोमणि लेखनाथ पौड्यालका तस्विरमा पुष्पगुच्छा तथा माल्यार्पण गरी कार्यक्रम प्रारम्भ गरिएको थियो ।
कवि तोया गौतमले लेखनाथ पौड्यालका कविताका विशेषताहरुको व्याख्या गर्दै उहाँलाई समाजका विकृतिप्रति औँला ठड्याउने सचेत कवि भन्नुभयो । जगन्नाथ देवकोटाले आफ्नो एक कविता प्रस्तुत गर्नु भयो भने भगवती पौड्यालले लेखनाथको परिष्कृत कविता शिल्प र सन्दर्भबारे प्रकाश पार्नु भएको थियो । वाल कवयित्री सारा तिमिल्सिनाले लेखनाथको सत्य सन्देश कविता वाचन गर्नु भएको थियो । आनन्द पौड्यालले कविशिरोमणि लेखनाथ पौड्यालको जीवनी कवितात्मक शैलीमा प्रस्तुत गर्नु भएको थियो भने गरिमा पोख्रेलले लेखनाथको संक्षिप्त जीवनी प्रस्तुत गर्नु भएको थियो ।
प्रा. गङ्गाधर कट्टेलले अमेरिकाबाट पठाउनु भएको लेखनाथ पौड्यालका कविताका विशेषता अभिव्यक्त भएको छोटो कविता कमला गौतमले पाठ गर्नु भएको थियो । बसन्त खनाल र भोला प्रेमीले पनि कविता वाचन गर्नु भएको थियो । प्रमुख अतिथि प्रा. नारायण प्रसाद कट्टेलले कविशिरोमणि लेखनाथ पौड्यालको काव्य साधना बारे चर्चा गर्दै मन्दाक्रान्त छन्दमा आफ्ना दुई कविता प्रस्तुत गर्नु भएको थियो ।
ह्वाइट माउण्टेन स्कुलका प्रिन्सिपल तिलक शर्मा पौडेलले उपस्थित साहित्यानुरागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । अन्त्यमा समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले कविशिरोमणि लेखनाथ पौड्याल कवितामा आधुनिक युगको थालनी गर्ने परिस्कारवादी कवि भएको बताउनुभयो ।
कार्यसमितिका सचिव तथा कवि भोला प्रेमीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा समाजका कोषाध्यक्ष आनन्द पौड्यालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ माघ २०८२, शुक्रबार 




