कविता गाउँ कास्कीको लुम्लेमा कविता पार्क बन्ने भएको छ ।

समाजसेवी चिनबहादुर केसीले दान गरेको चार आना दुई पैसा एक दाम जग्गामा समितिले उक्त पार्क निर्माण प्रक्रियालाई अगाडि बढाउन लागेको हो ।
कविता गाउँका प्रणेता विनोद गौचनको ११ औं स्मृति सभाका वक्ताले समिति अल्पकालीन र दीर्घकालीन योजनासहित कविता पार्क निर्माणमा अगाडि बढेको जानकारी गराउनु भएको हो ।

कविता गाउँ लुम्ले समितिका अध्यक्ष भरत देवकोटाले कविता पार्क प्रस्तावना २०८१ प्रस्तुत गर्दै विनोद गौचनको प्रतिमासहितको कविता पार्क निर्माणमा २६ लाख २५ हजारको लागत लाग्ने जनाउनु भएको छ ।
यसैगरी, समाजसेवी रामजीप्रसाद देवकोटाका परिवारले समितिलाई दान घोषणा गरिएको आठ आना जग्गा समितिको नाममा आएपछि समितिले अन्नपूर्ण गौरव योजनाका रूपमा अगाडि बढाएर लुम्ले ग्रामीण पर्यटन प्रवद्वर्धन केन्द्रका रूपमा अगाडि बढाउने लक्ष्य समितिको रहेको जानकारी गराउनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले कास्की कोटैकोटको जिल्ला भएकाले लुम्लेको चन्द्रकोटलाई पर्यटन प्रवद्धनको केन्द्र बनाउँदै पोयट्री भिलेज टे«कको गुरुयोजना बनाएर स्थानीय सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
साहित्यकार ढाकामोहन बरालले प्रकृतिकाले दिएको सुन्दरतालाई लुम्लेको समुदाय स्रष्टाका सिर्जनाका माध्यमबाट सजाउन सक्रिय रहनु स्तुत्य कार्य भएको बताउनुभयो ।

गुरुङ फिल्मका नायक ताराबहादुर गुरुङले साहित्यकार र कलाकार आफ्नो जीवनमा जति दुःख, कष्ट र पीडा भए तापनि समाजमा चेतनाको ज्योति बाल्ने र वेदनामा शितल दिने अमूल्य नीधी हुन् भन्नुभयो ।
कविता गाउँ लुम्लेका सचिव सुवास गुरुङले लुम्लेमा आन्तरिक तथा बाह्य पर्यटनको बसाइ लम्ब्याउन होमस्टे सञ्चालन गरी घरका कोठामा नेपालीपन झल्काउने राष्ट्रिय झण्डा, सारंगी, ठेकी, खुर्पेटो सजाउने, नेपाली र अंग्रेजी भाषामा राष्ट्रिय गानका साथै चर्चित कविका कविता एवम् चित्र सजाउँदै पार्क सौन्दर्यकरणमा समिति लाग्ने बताउनु भयो ।