डिजी शर्मा, जापान ।

नेपाली साहित्यमा लामो समयदेखि विवादको विषय बन्दै आएको विधा हो – गजल । पाठकमाझ जति-जति लोकप्रिय बन्दै जाँदैछ यो विधा, उति-उति विवादित पनि बन्दै गइरहेको छ । “विवादित” भन्दा सम्बन्धि क्षेत्रका सर्जकहरूको चित्त दुखाइ हुन सक्छ । त्यसैले यसलाई विवाद भन्नुभन्दा पनि बहस अथवा छलफल भन्दा उपयुक्त होला । किनभने, कुनै पनि विधामा बहस हुनु, छलफल हुनु, विचार विमर्श हुनु आफैँमा सुन्दर कुरा हो । त्यसले त्यसभित्रका कमिकमजोरी पत्ता लगाएर लेखनमा अझै सुधार गर्ने अवसर प्रदान गर्छ । नेपाली गजलको बहसमा बेलाबेला पानी बाराबारको स्थिति नै देखा पर्छ । नजिक-नजिक हुन्थे भने हात हालाहालको स्थिति नै हुन्थ्यो होला । धन्न त्यो बहस सामाजिक सञ्जालमा हुन्छ र मुख छोडिहाले पनि हात चाहिँ छोड्न मिल्दैन ।

प्राविधिक र सैद्धान्तिक विधा भएर पनि हुन सक्छ, नेपालमा गजल लेखनका विषयमा बेलाबेला विभिन्न किसिमका विवाद जस्ता लाग्ने बहस हुने गरेको पाइन्छ । बेलाबेला त यस्तो लाग्छ, यो बहस कहिल्यै टुङ्गिनेवाला छैन । किनभने, कहिलेकाहीँ यो गजलको बहसमा जुँगाको लडाइँ पनि हुने गरेको पाइन्छ/देखिन्छ । जब कुनै कुरामा जुँगाको लडाइँ हुन्छ, त्यसको अन्त्य हुँदैन । लडाइँ चलिरहन्छ । यसमा कुनै पक्ष पनि आफू झुकेर सहमतिमा आउन चाहँदैन । आशा गरम, नेपाली गजलमा देखिने यस्ता अनावश्यक जस्ता लाग्ने बहसहरूको चाँडै अन्त्य हुने छ ।

गजल लेखनको विषयलाई लिएर हुने बहस पाठकका लागि अब सामान्य भइसकेको छ । “गजलकारहरू यस्तै त हुन् नि ! झगडा गरिरहन्छन् नि !”  जस्तो पनि लाग्दो हो । पछिल्लो केही दिनदेखि यता गजलको बहस झन् बेसी उत्कर्षमा पुगेको छ । त्यसका कारण हो, गत सोमबार (पुस १५ गते) पोखरामा आयोजित “समकालीन नेपाली गजल विमर्श” कार्यक्रममा जारी गरिएको ७ बुँदे “गजल घोषणापत्र २०८१” । उक्त कार्यक्रमको आयोजना “पोखरेली गजलप्रेमी समूह”ले गरेको थियो ।

घोषणापत्र सार्वजनिक भएलगत्तै फेसबुक गजलमय भएको छ । कसैले यसलाई स्वागतयोग्य घोषणापत्र भनेका छन् भने कसैले यसको विरोध पनि गरेका छन् ।  कसैले त घोषणापत्रमा आगो नै लगाए जसको फोटो सार्वजनिक भएको छ । तुलनात्मक रूपमा हेर्दा यसको समर्थन र स्वागत गर्नेहरूको सङ्ख्या बेढी देखिन्छ । विशेष गरी बहरवादी गजलकारहरूले यसको विरोध गरेको पाइएको छ । यस घोषणापत्रले गैरबहरका गजललाई पनि मान्यता दिने काम गरेको उनीहरूको आरोप छ ।

यता समर्थन गर्नेहरूले भने बहर र स्वतन्त्र लयविधानमा लेखिएका दुबै गजललाई गजलको मान्यता दिनु पर्ने राय व्यक्त गरेका छन् । गजल विमर्श कार्यक्रमको आयोजना गरी  घोषणापत्र जारी गर्ने पोखराका गजलप्रेमी समूहको मुख्य आशय पनि यही हो । बहरमा लेखिएका गजल मात्रै गजल हुन् भन्ने अतिवादी सोचको भत्सर्ना गर्दै भेलाले आफ्नो रुचि अनुसार स्वतन्त्र लय र बहर दुबैमा गजल लेख्न सकिने बताएको छ । भेलाले नेपाली गजलमा देखिँदै आएको यस किसिमको विवाद अनावश्यक रहेको निष्कर्ष पनि निकालेको छ ।

पोखराको गजल घोषणापत्रका बारेमा बहस गर्दै फेसबुकमा धेरैले धेरै थोक लेखे र लेखिरहेका छन् । कस-कसले के-के लेखे त ? आजको लेख त्यसैमा केन्द्रित रहने छ । हुन त यहाँ उल्लेख गर्नुभन्दा पहिल्यै तपाईंले सम्बन्धित व्यक्तिको फेसबुक वालबाट ती कुरा पढिसक्नु भएको पनि हुन सक्छ । केही छैन, फेरि एक पटक पढ्न सक्नुहुने छ । साथै सात बुँदे त्यो घोषणापत्रमा के के लेखिएको छ ? भन्ने कुरा पनि यता उल्लेख गर्न चाहन्न । त्यो पनि तपाईंले पढिसक्नुभयो होला भन्ने मेरो विश्वास छ ।

शुरूवातमै गजलकार बाबु त्रिपाठीको कुरा जोड्न चाहेँ । उहाँले त्यस घोषणापत्रलाई पूर्णरूपमा समर्थन गरेको जानकारी गराउनु भएको छ । उहाँ भन्नुहुन्छ, “राजनीतिक दलको नाममा खुलेका पान पसलहरू बन्द हुनु पर्छ,  हुन्छन् भनेझैँ नेपाली गजलका लागि खुलेका सबै खाले भ्रमका खेतीहरू अब बन्द हुने छन्, बन्द हुनै पर्छ ।” पाेखराबाट जुन कार्यकाे थालनी भएको छ यसलाई विश्रभर रहेर गजल लेखिरहेकाहरू र अब गजल लेखनमा आउने जाे काेहीले स्वागत गर्नु पर्ने गरी आएकाे उहाँको भनाइ छ । यसअघि गजलकारहरूलाई स्पष्ट रूपमा बुझाउन नसकेका, भ्रममा रहेका तमाम गजलकारहरू र  गजलमा उत्पन्न भएका तमाम भ्रमहरूलाई  पाेखराबाट आएको घाेषणापत्रमा उल्लेख भएका बूँदाहरूले स्पष्ट पारिदिएकाे उहाँ बताउनु हुन्छ । “हामी सबैकाे लागि स्पष्ट मार्ग निर्देशन बनेर आएकाे छ । जाे विस्तृत रूपमा आएकाे छ । यसलाई हृदयदेखि स्वागत गराैँ, स्वागत छ, समर्थन गर्दछु” उहाँ भन्नुहुन्छ ।

साथै, नेपाली गजलमा कतै विवाद नभएको र यसअघि २०७६ सालमा प्रज्ञा प्रतिष्ठानमा भएको भेलाले जारी गरेको घाेषणापत्रमा जसले  हस्ताक्षर गरेका थिए, त्यसमध्ये केहीले घोषणापत्रमा उल्लेख भएका बुँदाहरू आफू खुशी  व्याख्या गरिदिनाले गजलमा अशाेभनीय टीकाटिप्पणी र विवादहरू आएकाे गजलकार त्रिपाठी बताउनु हुन्छ । पोखराको घोषणापत्र त्यही प्रज्ञा प्रतिष्ठानको घोषणापत्रको विस्तृत रूप भएको र गजलमा बाँकी रहेको अन्योललाई यसले अन्त्य गरिदिएको उहाँ दाबी पनि गर्नुहुन्छ ।

त्यसैगरी कवि, समालोचक तथा प्राध्यापक डा. अशोक थापा पोखराको गजल घोषणापत्रलाई लक्षित गर्दै लेख्नुहुन्छ, “सिद्धान्तहरू ढुङ्गामा खोपिएका अक्षर होइनन् । समयक्रममा ती प्रतिस्थापित हुन्छन् पनि । सिद्धान्त एउटा भूगोलबाट अर्कोमा पुग्दा अनुकूलित हुन्छन् । नयाँ सिद्धान्तहरू बन्दै जान्छन् पनि । नेपाली साहित्य सिद्धान्त पनि बन्दैछ ।” साथै उहाँले जुन विधा निमोठिएर हिँड्न खोज्छ पोखराले त्यसलाई दाम्लोमा ल्याइदिने बताउनु हुन्छ । यसअघि तादि मुक्तकलाई पोखराले ठेगानमा ल्याइदिएको र आज गजललाई ठेगानमा ल्याएको भन्दै उहाँ “पोखरा त साँच्चिकैको पोखरा पो रैछ” भनेर लेख्नुहुन्छ । केही गजलकारहरूले समालोचक डा. थापाको भनाइमा समर्थन जनाउँदै त्यसलाई शेयर पनि गरेका छन् ।

यता, गजलकार लोकेन्द्र बञ्जाराले पोखराको घोषणापत्रमा केही कमजोरी भए पनि त्यो स्वागत योग्य भएको बताउनु भएको छ । उहाँ लेख्नुहुन्छ, “स्वनिर्मित अथवा स्वतन्त्र भनेर गद्यमा लेख्न पाइँदैन भन्न छुटेछ । तर यसैलाई निहुँ बनाएर फेरि अर्को साइवर युद्ध हुने कुरामा म विस्वस्त छु। यो घोषणापत्र केही कमीकमजोरी सहित स्वागत योग्य छ ।”

त्यसैगरी, घोषणापत्र फेसबुकमा शेयर गर्दै गजलकार शीतल कादम्बिनीले त्यसको समर्थन र स्वागत गर्नुभएको छ । सम्बन्धित सबैका लागि हितकारी घोषणापत्र भएको ठहर गर्दै उहाँले पोखरेली गजलकारहरूप्रति आभार पनि प्रकट गर्नुभएको छ । यसका साथै यो घोषणापत्र सार्वजनिक भएसँगै गजलका नयाँ पुस्ताले दोधार हुनु नपर्ने उहाँको भनाइ छ ।

त्यसैगरी, कवि तथा गजलकार युवराज भण्डारीले पोखरा गजल घोषणापत्रको समर्थ गर्दै त्यसको प्रशंसा गर्नुभएको छ । यसले नेपाली गजल क्षेत्रमा देखिएको विवादलाई समाधान गर्ने मार्ग देखाएको उहाँको भनाइ छ । यसले स्वस्थ तथा प्राज्ञिक मन्थनको वातावरण सिर्जना गरेको भए पनि घोषणापत्रमाथि आएका उग्र नकारात्मक प्रतिक्रियाहरूप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

यस्तो सकारात्मक कदममाथि आएका केही उग्र प्रतिक्रियाहरूले सिर्जनात्मकता र शिष्टताको साटो अराजकता र असभ्यतालाई प्राथमिकता दिएको उहाँ बताउनु हुन्छ । नेपाली गजलमा देखिँदै आएको गालीगलौज र विवादले गजलप्रेमीहरूमा अन्योल सिर्जना गरिहेकै बेला आएको यस घोषणापत्रले सम्भावनाको नयाँ ढोका खोल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सामाजिक वा साहित्यिक जुनसुकै विषयमा स्वच्छ र स्वस्थ बहस सधैँ स्वागतयोग्य हुने भन्दै उहाँले तर, व्यक्तिगत स्वार्थ वा गुटगत सोचका कारण अनर्गल प्रचारबाजी हुनु निन्दनीय भएको बताउनु भयो ।

साथै गजलमा सह-अस्तित्व, शिष्टता र सिर्जनात्मक मन्थनलाई प्राथमिकता दिँदै सकारात्मक सोच राख्न सबैले एकताबद्ध रूपमा पहल गर्न पनि उहाँले सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

यस्तै, गजलकार तथा प्राध्यापक डा. घनश्याम परिश्रमीलाई मैले सिधै सोधेको थिएँ, “पोखराको गजल घोषणापत्रप्रति तपाईंको धारणा के छ ?” जवाफमा उहाँ भन्नुहुन्छ, “गजलकाे अभ्यास सातौं शताब्दीमा नै भएको हो । यसको वैश्विक मानक सिद्धान्त छ । हिन्दी र उर्दूका सन्दर्भमा  भारतीय र पाकिस्तानीहरूले कहिल्यै घाेषणापत्र जारी गरेका छन् जस्तो मलाई लाग्दैन । उनीहरू भाषाकाे स्वरूप र प्रयोगका सन्दर्भमा समय समयमा बहस चलाउँछन् । घाेषणापत्र त नयाँ विधा/ प्रविधा आदिका लागि गरिन्छ भन्ने मलाई लाग्छ । यसबारे म पनि अनभिज्ञ छु ।” साथै उहाँ गजलमा घोषणापत्र आवश्यक नरहेको  जिकिर गर्नुहुन्छ । यसअघि प्रज्ञा प्रतिष्ठानबाट त्यस किसिमको घोषणापत्र आइसकेकोले त्यसले नै मार्ग दर्शन गरिरहेको उहाँको बुझाइ छ । साथै उहाँले कुनै घाेषणापत्रबाट अत्तालिएर उत्तेजित र अराजक नबन्न सम्बन्धित सबैमा आग्रह समेत गर्नुभएको छ ।

गजलकार डा. परिश्रमीलाई सोधेकै प्रश्न मैले कवि, समालोचक तथा प्राध्यापक महेश पौड्याललाई पनि सोधेको थिएँ । जवाफमा उहाँले गजलले माग्ने ललित, कोमल र स्रुतिमधुर भाषा, तथा सङ्गीतको ज्ञान पर्याप्त नभएकाहरू पनि लहडको भरमा गजलमा लागेकोले यसले गेयात्मकता र कोमलता गुमाएको बताउनु भयो ।

गजलका विमर्शहरू केही गजलकार र सिद्धान्तशास्त्रीकै घम्साघम्सीमा चेप्टिएकोले यसका पाठक, भावक वा श्रोता त्यसबाट बञ्चित हुनु परेको उहाँको गुनासो छ । पाठकको गजलप्रेमका आधार वा मापदण्डमाथि कुनै शोध वा अनुसन्धान नै नभएको उहाँ बताउनु हुन्छ । सम्पूर्ण बहस गजल लेखक र सिद्धान्तकारकै जुँगाको लडाइँमा सीमित हुँदै आएकोले आधुनकि नेपाली सङ्गीतको दशकौँ लामो इतिहास हुँदा पनि औँलामा गन्न सकिने एकाध गजलबाहेक जनसामान्यको सामूहिक स्मरणमा रहने गरी गजल आउन नसकेको उहाँको भनाइ छ ।

त्यसैगरी साहित्यपोस्टसँग कुराकानी गर्दै गजलकर जे. सागरले पहिलेदेखि नै आफू सबैलाई सम्मान गर्नु पर्छ र सबैको अस्तित्वलाई स्वीकार गर्नु पर्छ भन्ने मान्यता बोकेर हिँडेको बताउनु हुन्छ । गजलमा देखिँदै आएको गुट उपगुटका साथै बहर र स्वतन्त्र भनेर हुँदै आएको कित्ताकाटबाट आफू टाढै रहेको उहाँले जानकारी गराउनु भयो । साथै यस किसिमको अतिवाद आफूलाई स्वीकार्य नभएको पनि उहाँ बताउनु हुन्छ । गजलमा देखिने विवाद अनावश्यक भएको भन्दै उहाँले यस किसिमका बहस र विवादमा आजभोलि आफूले खासै चासो दिने नगरेको उहाँको भनाइ छ ।

पोखराको गजल घोषणापत्रलाई लक्षित गर्दै थोरै  व्यङ्ग्य शैलीमा गजलकार घनेन्द्र ओझा वास्तवमा नेपालमा गजलको “गुरु-शिष्य” परम्परा नै गलत भएर यस्तो भएको दाबी गर्नुहुन्छ । शिष्य, गुरुको मात्र भरमा पर्ने र गुरुले विषय बस्तुको पूर्ण ज्ञानबिना हचुवाको भरमा जे पायो त्यही सिकाइदिनाले नेपाली गजलमा यस किसिमको विवाद निम्तिरहेको उहाँको धारणा छ । त्यसैले  सबैभन्दा पहिले नेपालमा रहेका “गजलका स्कूलहरू” मा सुधार गर्नुपर्ने र “गुरु-शिष्य” परम्परालाई बन्द गर्नु पर्ने उहाँको माग छ  । यसका साथै गजलकारहरू स्वयम् आफैँ यसको खोज, अनुसन्धान र अध्यनमा लाग्नु पर्ने उहाँ बताउनु हुन्छ । अन्यथा गजलमा देखिँदै आएको विवाद कहिल्यै नटुङ्गिने र नेपाली गजल परिष्कार पनि नहुने उहाँको दाबी छ  । साथै उहाँले स्वस्थ, मार्यादित र शालीन भएर आफ्ना प्रतिक्रियाहरू राख्न आग्रह पनि गर्नुभएको छ ।

त्यस्तै, गजलकार डा. प्रदीपकुमार मैनाली घोषणापत्रप्रति घुमाउरो पारामा व्यङ्ग्य प्रहार गर्नुहुन्छ । नेपाली गजलमा पहिले-पहिले काफिया नभएकालाई पनि गजल भनिने कुरा इङ्कित गर्दै भोलिका दिनमा रदिफसँग तालमेल नभएकालाई पनि गजल भनिने सम्भावनाप्रति उहाँ व्यङ्ग्य प्रहार गर्नुहुन्छ । यस्तै हुँदै जाने हो भने अब एउटा शेरमा काफिया र रदिफ तथा अर्को शेरमा काफिया मात्रै भएकोलाई पनि गजल भन्ने दिन नआउला भन्न नसकिने उहाँ भन्नुहुन्छ । यसका साथै यसरी नै आफू अनुकूल अपव्याख्या गर्दै जाने हो भने भोलिका दिनमा गजलमा “ग” मात्रै  बाँकी नरहला भन्न नसकिने उहाँको भनाइ छ ।

उता, गजलकार स्पन्दन विनोदले भने पोखराको घोषणापत्रप्रति ठाडो रूपमा विरोध जनाउनुभएको छ । त्यतिमात्रै हैन, उहाँले गजलबारे यस किसिमको भ्रम सिर्जना गर्नेलाई कारबाही गर्नुपर्ने माग समेत गर्नुभएको छ । साथै गजल बहरमा लेखिने एक मात्र शास्त्रीय गेय विधा भएको जिकिर गर्दै उहाँले यो सिद्धान्त नबुझ्ने, बुझ्न नचाहने र गजल बारे गलत शिक्षा दिने कुनै पनि साहित्यिक संघ-संस्था तथा पत्रिकाको सदस्यता नलिने घोषणा समेत गर्नुभएको छ ।

पोखराको गजल घोषणापत्रका बारेमा मैले गजलकार प्रदीप रोदनसँग पनि जिज्ञासा राखेको थिएँ । हल्का मुस्कुराउँदै उहाँले यसबारेमा आफू अनविज्ञ रहेको कुरा जानकारी गराउनु भयो । तर त्यो घोषणापत्र सार्वजनिक भएपछि उहाँले फेसबुकमा राखेको एउटा स्टाटस भने यहाँ उल्लेख गर्न मन लाग्यो । उहाँ लेख्नुहुन्छ, “कसैलाई सिध्याउन हिँडेको मान्छेलाई, आफैँ पनि सकिने चिज हुँ भन्ने ज्ञात होला कि नहोला ?”  तर यो स्टाटस पोखराको घोषणापत्रप्रति लक्षित हो/होइन ? त्यो चाहिँ स्वयम् उहाँलाई नै थाहा होला ।

यता, पोखरा गजल घोषणापत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा देखिएका विभिन्न किसिमका बहसलाई लक्षित गर्दै कवि तथा चित्रकार जीवित खड्का मगर अर्को व्यङ्ग्य प्रहार गर्नुहुन्छ । “प्राय:जसोले घोषणापत्रलाई ‘वाह !’ भन्दै सेयर गरेको देखेँ ! मलाई भने राजनीतिको गन्ध जस्तो नाकमा हिर्काइहाल्यो । हुन सक्छ मैले हावामा पूर्वाग्रह बोल्दै छु, धेरैलाई लाग्ने छ । तथापि ! मलाई यो लाग्छ कि कसैलाई उचाल्ने, कसैलाई थेचार्ने त्यो एउटा कैँची मात्र हो । खुरुखुरु लेख्नेहरूलाई, न घोषणा न लोषणा केहीले छुनु पर्दैन, छुँदैन” उहाँ लेख्नुहुन्छ ।

यता कवि प्रज्वल अधिकारीले घोषणापत्रको आवश्यकतामाथि प्रश्न उठाउनु भएको छ । “गजल कुनै पार्टीको नाम हो र घोषणापत्र चाहिने ?” भन्दै उहाँले यस किसिमका झगडाहरूले दिल र दिमागबाटै गजल हराउन सक्नेप्रति सचेत गराउनु भएको छ । “अस्तीका दिनदेखि नेपाली गजलकारहरूले गजल पनि लेख्दै हुनुहुन्छ, कि बाझ्दैमा ठिक्क छ ?” प्रश्न गर्दै उहाँ लेख्नुहुन्छ, “हजुरहरू लडेर गजलको मैदानमा बुङ्बुङ छारो उडेको छ, कृपया गजलको वर्षा गराइदिनु । हजुरहरूले लेखिदिनु भएन भने हामीले के पढ्ने ?” यसअघि प्रज्ञा प्रतिष्ठानको भेलाले पनि घोषणापत्र जारी गरेको सम्झिँदै उहाँले अरु कहाँ-कहाँबाट यसरी घोषणापत्र आएपछि नेपाली गजलको विवाद टुङ्गिने हो ? भनेर जिज्ञासा राख्नु हुन्छ । यसका साथै उहाँले “यो देशमा कसले भन्यो भने गजल यही हो भन्ने हुन्छ ?” भनेर प्रश्न पनि गर्नुभएको छ । बहर अथवा स्वतन्त्र लय जेमा लेखे पनि आफूले त्यसलाई सहर्ष स्वीकार गर्दै आएको उहाँको भनाइ छ ।

यता, गजलकार लेख कार्कीले घोषणापत्रको समर्थन गर्दै पोखरेली समूहले कुनै धारलाई निषेध नगरी आफ्नो धारणा व्यक्त गरेको बताउनु भएको छ । यसमा मत भिन्नता हुँदा यही घोषणापत्र जस्तै शालीन रूपमा बहस, आलोचना र आफ्ना धारणाहरू व्यक्त गर्न सकिने भन्दै उहाँले यस घोषणापत्रलाई लिएर गिज्याउने, उडाउने र आराजक हुनु पर्ने कुनै कारण नभएको स्पष्ट पार्नुभयो ।

भारत र पाकिस्तानका लागि कस्मिर विवाद भए जस्तै नेपाली गजलकारहरूका लागि गजल विवाद पनि त्यस्तै भएको भन्दै उहाँले व्यङ्ग्य प्रहार पनि गर्नुभयो ।

सामाजिक सञ्जालमा पोखरा गजल घोषणापत्रको समर्थन र विरोध चलिरहेकै बेला त्यो घोषणापत्र जलाएको तस्बिर पनि यतिबेला सञ्जालमा छाइरहेको छ । त्यसको वास्तविकता भने जाँच्न बाँकी नै छ । चित्त नबुझेको कुरामा लिखित तथा मौखिक रूपमा विरोध गर्न छुट भएको तर यसरी घोषणापत्र जलाउनु उपयुुक्त नभएको भन्दै धेरैले यसको भत्सर्ना गर्नुभएको छ ।  घोषणापत्र यसरी जलाउनु गलत भएको साहित्यकार एल बी क्षेत्री बताउनु हुन्छ । जलाइएको घोषणापत्र फेसबुकमा शेयर गर्दै साहित्य र साहित्यमाथिको विचार तथा विमर्श जलाउने नभई त्यसको सम्मान गर्दै त्यसमाथि थप विमर्श गर्नु पर्ने र सत्यलाई स्वीकार गर्नु पर्ने उहाँ बताउनु हुन्छ ।

त्यसैगरी, गजलकार बूँद रानाले पनि घोषणापत्र जलाएकोप्रति आपत्ति जनाउनुभएको छ । कुनै गजलकारले यस्तो गर्लान् जस्तो लाग्दैन भन्दै उहाँले यस्तो भएकोकोमा दु:ख व्यक्त गर्नुभएको छ । यसका साथै उहाँले आलोचक बन्न तर अराजक नबन्न सम्बन्धित सबैमा अनुरोध पनि गर्नुभएको छ ।

त्यस्तै, समालोचक तथा प्राध्यापक महेश पौड्याल पनि यसरी घोषणापत्र जलाउनु कायरता भएको बताउनु हुन्छ । “वाद, विवाद, संवाद हुन्छन् । सहमति-असहमति हुन्छन् । बहसमा उत्रनेसँग यति छाती हुनुपर्थ्याे, तर देखिएन । दु:खद !” उहाँ लेख्नु हुन्छ ।

घोषणापत्रका बारेमा सामाजिक सञ्जालमा विभिन्न किसिमका टीकाटिप्पणी आउन थालेपछि साहित्यकार सरुभक्तको पनि त्यसप्रति ध्यानाकर्षण भएको छ । उहाँकै अग्रसरतामा पुस १५ गते पोखराको भेला सम्पन्न भएको थियो र कार्यक्रममा उहाँले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सञ्जालमा आएका विरोधप्रति लक्षित गर्दै उहाँले आफूहरूले सह-अस्तित्वको कुरा गरेको तर गजलका अतिवादीहरूले त्यसको विरोध गरेकोमा दु:ख व्यक्त गर्नुभयो । गजलमा उग्रवादी किल्ला निर्माण गरी राज गरेँ भनेर ठान्नेहरूको किल्ला पोखराको घोषणापत्रले भत्काएकोले पनि उनीहरू त्यसरी गालीगलौजमा उत्रिएको उहाँको ठम्याई छ । आफूहरूले नेपाली समकालीन गजलमा भएका अतिवादी किल्लाहरू भत्काउन चाहेको र त्यो लक्ष्य पूरा भएको भन्दै उहाँले गजलकारहरूका बीचमा प्राज्ञिक बहसको आरम्भ भएको र यसले भोलिका दिनमा पनि निरन्तरता पाउने जानकारी गराउनु भयो । गजल विमर्श कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै साहित्यकार सरुभक्तले गजलमा आएको विवादले राम्रा गजलकाहरूमा समेत गजलप्रति वितृष्णा जगाएको बताउनु भएको थियो । विशेष गरी बहरवादीहरूले स्वतन्त्र गजलप्रति गर्ने गालीगलौज र आक्षेपले नेपाली गजलको विकास नभई विनाश गरिरहेको उहाँले आरोप समेत लगाउनु भएको थियो ।