पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ४ वटा पुस्तक प्राप्त भएका छन् ।

===

१. अर्धशताब्दी – मनीषकुमार शर्मा ‘समित’

लेखक मनीषकुमार शर्मा ‘समित’को नवीनतम लघुकथासङ्ग्रह हो ‘अर्धशताब्दी’ । कथाकारले पुस्तकमा सामाजिक तथा सांस्कृतिक विसङ्गति, गरिबी र भ्रष्टाचार जस्ता विषयलाई व्यङ्ग्य गर्दै गहन रूपमा प्रस्तुत गर्नुभएको छ ।

‘पहिलो र दोस्रो कृतिहरूप्रति पाठकहरूले देखाउनुभएको माया, मिठास प्रतिक्रिया, सुझावले मलाई लघुकथा लेखनमा जुझारु बनायो ।’’ लेखक शर्मा लेखकीय अभिव्यक्तिमा लेख्नुहुन्छ, ‘‘लघुकथाका सैद्धान्तिक पक्षलाई बुझ्दै जाँदा यसैमा रस बस्यो र झन् लेख्न हौसायो तर तेस्रो कृतिको सेरोफेरोमा लघुकथाका विषयवस्तु र मौलिकताहरू तगारोको रूपमा आए । तत्कालीन समयमा धेरै सर्जकहरूको लघुकथा छयाप्छयाप्ती आउन थालेको थियो । मलाई ती लघुकथाभन्दा पृथक् लेख्नु थियो, आफ्नो पृथक् पहिचान बनाउनु थियो । विषयवस्तुमा मौलिकता ल्याउनु थियो । यी कार्य मेरा लागि कठीन थियो तैपनि अग्रसर भएर कृतिको रूपमा प्रस्तुत गरेको छु ।’’

पुस्तकमा खेमराज पोखरेल लेख्नुहुन्छ, ‘लघुकथामा कौतुहलता मेरुदण्ड हो । यही मेरुदण्डलाई आत्मासात् गर्दै मनीषले अधिकतम् शीर्षकमा नै तत्सम शब्दको प्रयोग गरेका छन् । यस्तो शीर्षकको प्रयोगले पाठक कौतुहलतावश शब्दकोश पल्टाउन बाध्य हुन्छन् । कौतुहलता विनिर्माणको यो सुन्दर शैली हो ।’

त्यस्तै, भूमिकामा ध्रुव मधिकर्मी लेख्नुहुन्छ, ‘यी लघुकथाहरूको आधारमा लघुकथाकार मनीषलाई समकालीनभन्दा भिन्न रहेको देखिन्छ । उनले आफूलाई केही भिन्न देखाउन निकै प्रयास गरेका छन् । उनले लिने विषय, त्यसको प्रस्तुति, स्वैरकल्पनाको प्रयोग, नयाँ नयाँ शब्दहरूको प्रयोग, उत्कर्षमा भिन्न प्रभाव, सटिक रूपमा व्यंग्यको प्रयोग, दृष्टिकोणमा नयाँ आग्रह आदिले उनका लघुकथा निकै प्रभावकारी छन् ।’’

पुस्तकलाई सिर्जना अभियान समाजले प्रकाशनमा ल्याएको हो । ५० थान लघुकथा सङ्ग्रहित पुस्तकको मुल्य २ सय रुपैयाँ रहेको छ ।

===

२. सोनामका हजुरबुबा (संवाद)– उत्तरकुमार पराजुली

लेखक उत्तरकुमार पराजुलीको नवीन कृति हो ‘सोनामका हजुरबुबा’ (संवाद) । लेखकले पुस्तकमा संयुक्त परिवारमा हुर्किएको बच्चाहरूले परिवारबाट धेरै कुरा सिक्न सक्छन् भन्ने कुरा हजुरबुबा र नातिनी बीचको संवादका माध्यमबाट प्रस्तुत गर्नुभएको छ ।

‘यो मेरो आफ्नै अनुभूतिमूलक आत्माकथा हो । आफ्नो बालापनको सिकाइ–सम्झनालाई आफ्नै अनुभवका आधारमा सामान्यीकरण गरेको । श्रीपञ्चमीका दिन अक्षरारम्भ बुबाको काखमा बसेर गरेको याद छ । त्यसपछि मैले कसरी कखहरा लेख्न पढ्न सिकेँ भन्ने सम्झना छैन । तर ., झ, ड, थ, क्ष, वर्णहरू लेख्नलाई पछिसम्म नै गाह्रो लाग्थ्यो ।’ लेखक पराजुली लेख्नुहुन्छ, ‘मैले पहिला किताबको गाई शीर्षकको निबन्ध दलानमा बसेर पढ्दा आँगनमा काम गरिरहनुभएको हजुरबुबाले मेरो गल्ती औँल्याइदिँदाको त्यो जादुगरी क्षण मलाई निकै पछिसम्म अद्भुत लाग्थ्यो । त्यो बाल्यकालमा हजुरबुबामा स्थापित शिवमय आद्यगुरुत्वले मेरा अध्ययनका अनन्त मार्गहरू निर्देश गरेको छ । यस ग्रन्थका सोनामका हजुरबुबामा मैले त्यही विम्ब स्थापित गर्ने प्रयास गरेको छु ।’

पुस्तकको भूमिकामा दलबहादुर गुरुङ लेख्नुहुन्छ, ‘गुरुङ संस्कार, संस्कृति, रहनसहन, चालचलन र परिवेशसँग पुस्तकमा सोनाम, उनका हजुरबुबा, हजुरआमा, उनका बाबा र आमाहरू दौडिएका छन् । यो नाटक हो । दोहोरो संवाद उल्लेख गरिएको छ । घरमा हजुरबुबा र हजुरआमासँग नातिनातिना खेल्न, बोल्न र रमाइलो गर्न पाउँदा उनीहरूले कति कुरा सिक्दा रहेछन् भन्ने कुरा यो पुस्तकबाट सजिलै थाहा पाइन्छ । पुस्तकमा बालमनोविज्ञान समाहित छ ।’

पुस्तकलाई श्री वसुन्धरा भुसाल (पराजुली) ले प्रकाशन गर्नुभएको छ । ४ सय ४३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ५५ रुपैयाँ रहेको छ ।

३. अर्धकदको अवसान– ज्ञानेन्द्र विवश

लेखक ज्ञानेन्द्र विवशको नयाँ नवीन हो ‘अर्धकदको अवसान’ । लेखकले पुस्तकमा प्रकृति, जीवन भोगाई र समाजका सूक्ष्म यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ ।

‘जसले जति गहिरोसँग निबन्धलाई आत्मासात् गर्न सक्छ उसले त्यति नै गहिरो आनन्दको अनुभूति लिन सक्छ । त्यसैले निबन्ध मूर्त भएर अमूर्तजस्तो र अमूर्त भएर मूर्तजस्तो पाठक अनुकूल हुने गर्छ । त्यसैले लेखनको गाम्भीर्य र बौद्धिकता नै निबन्धको सौन्दर्य हुने गर्छ ।’, पुस्तकको भूमिकामा श्रीओम श्रेष्ठ रोदन लेख्नुहुन्छ, ‘‘जुनै विषय र सन्दर्भका निबन्धमा पनि उहाँको अध्ययन र अनुभवका विविध प्रसङ्गहरूले निबन्धहरू हार्दिक, बौद्धिक, कलात्मक र तर्कपूर्ण बनेका छन् । प्रकृति, जीवन भोगाइ र समाजका सूक्ष्म यथार्थलाई निबन्धहरूले जागृत गराउने प्रयास गरेका छन् ।’’

पुस्तकमा तेजेश्वरबाबु ग्वंग लेख्नुहुन्छ, ‘अर्धकदको अवसान शीर्षक ज्ञानेन्द्र विवशका निबन्धमा समकालिन घटनाले घटाएको वीभत्स, तर विवश चित्रण ! चित्रण जे भएका छन् शब्दै–शब्दका संयोजनमा । ब्रह्म विवेक चुँडिएको विवरण–चित्र ! विवेकविनाको मान्छे र मान्छेभित्र मान्छे बिलाएको अवस्थाले निम्त्याउने स्थिति जहिले पनि जहाँसुकै वीभत्स नै बन्छ । निबन्धका अंशहरू सूचना संवाहक हुन्छन् । सूचनाहरू मर्मभेदी समवेदनाका सूचक हुन्छन् ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको छ । २ सय १७ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ५० रुपैयाँ रहेको छ ।

===

४. म अझै जीवित रहेछु – सुशीला शर्मा ‘शिलु’

‘ओहो !
यो विशाल मानव नगरी
चाहनाको कोलाहल, अन्यायको चिच्चाहट
सच्चाइको मौनता र निर्दोषहरूलाई
बलि दिइएको रक्तकुण्डमा
म अझै जीवित रहेछु !

विज्ञानको विशाल प्रयोगशाला र
अध्यात्मको सपनी तीर्थ
शक्तिशालीहरूको कोलाहल र
गरीबको मौन चिता अनि
निर्दोषहरू पुरिने पापकुण्डमा
म अझै जीवित रहेछु !
(म अझै जीवित रहेछु, पृ. १३)

कवि सुशीला शर्मा ‘शिलु’को नवीन कवितासङ्ग्रह हो, ‘म अझै जीवित रहेछु’ । कविले पुस्तकमा नारी संवेदनालाई कलात्मक अभिव्यक्तिको माध्यमबाट प्रस्तुत गर्नुभएको छ ।

‘कविता मेरो हृदयको भाषा हो । आफ्ना अनुभूति, भोगाइ, संवेदना सबै कुरा मेरा कविताका विषय हुन् । मलाई विश्वब्रह्माण्डका यावत् कुरा कविताजस्ता लाग्छन् ।’ कवि शर्मा आफ्ना कुरामा लेख्नुहुन्छ, ‘यस सृष्टिका सम्पूर्ण प्राणीजगत् र मानवजीवन प्रकृतिको सुन्दर रचना हो । त्यसमा पनि मानवजाति आफैँ चेतलशील र विवेकशील प्राणी हो । यस आँखाबाट हेर्दा र जन्ममृत्युको सत्यलाई मनन गर्दा सम्पूर्ण विश्व नै एउटामात्र आँगनीमा छ जस्तो लाग्छ, तर धर्तीमा जन्मिएदेखि नै एउटा विशेष स्थानमा जीवनको शुरुवात हुनेभएकाले मात्र मानवजाति फरक भूगोल, भाषा संस्कृति, जातिगत र क्षेत्रीय आधारका पहिचानबाट अस्तित्वशील छ । मेरा कवितामा यी कुरा पनि सम्बोधित छन् ।’

पुस्तकको भूमिकामा ज्ञानु अधिकारी लेख्नुहुन्छ, ”सुशीला शर्मा ‘शिलु’को यस कृतिको पठनपश्चात् उनी वर्तमानका युगीन यथार्थलाई विषय बनाएर लेख्ने र वर्तमानका असङ्गतिप्रति तीव्र रोष प्रकट गर्ने कविका रूपमा देखिन्छिन् । ‘म अझै जीवित रहेछु’ शीर्षकको प्रस्तुत कवितासङ्ग्रहका गद्यकविताले मूलतः नारीचेतना तथा युगीन यथार्थलाई अभिव्यक्त गरेको देखिन्छ । उनको यस कृतिका कविताले पाठकलाई विविध विषयको आस्वादन गराउँछन् ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको छ । ४० थान कविता सङ्ग्रहित कृतिको मूल्य २ सय ५० रुपैयाँ रहेको छ ।