कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जयन्ती आज विभिन्न कार्यक्रम गरि मनाएको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो ।
सोही अवसरमा उहाँले नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो ।

त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली  हुने बताउनुभयो ।

कार्यक्रममा यादव भट्टराई, ललिता दोषी र भगवती बस्नेतले कविता वाचन गर्नुभएको थियो ।