सिर्जना अभियान समाजले स्रष्टा संवाद तथा कृति विमर्श कार्यक्रममा स्रष्टा गोपाल अश्कलाई प्रस्तुत गरेको छ ।

कार्यक्रममा स्रष्टा समालोचकहरुले स्रष्टा तथा द्रष्टा गोपाल अश्कको सिर्जना तथा लघुकथाको सिद्धान्तमाथि केन्द्रित पुस्तक लघुकथा प्रक्रिया र पाठमाथि विमर्श गरेको छ ।
कार्यक्रममा प्रमुख वक्ता डा. पुष्करराज भट्टले लघुकथाको आफ्नो निश्चित स्वरुप ग्रहण गरिसकेको विषयलाई स्रष्टा अश्कले लघुकथा प्रक्रिया र पाठमा पश्चिमी र पूर्वीय दृष्टिकोणसहित गहन रुपमा विवेचना गरेका छन् भन्नुभयो ।

अश्क नेपाली लगायत भोजपुरी, हिन्दी र अंग्रेजी आदि विविध भाषाका साहित्यमा पनि कलम चलाउँदै आउनु भएको स्रष्टा बताउँदै उहाँले नेपाली लघुकथाको सिद्धान्तबारे पहिलो पटक कृति लेखेर यो विद्यालाई स्थापित गराउन महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
कथाकार धुव मधिकर्मीले लघुकथाहरुको सिर्जना व्यापक रुपमा बढ्न थालेको सन्दर्भमा लघुकथाको सैद्धान्तिक अवधारणामाथि लेखिएको कृति निकै महत्वपूर्ण हुने बताउँदै साहित्यकार अश्कको हालै प्रकाशित लघुकथा प्रक्रिया र पाठ कृतिले नेपाली लघुकथाको समग्र रुपमा परिचय दिन सफल भएको उल्लेख गर्नुभयो ।

साहित्यकार मातृका पोखरेलले स्रष्टा तथा समालोचक अश्कलाई शुभकामना दिँदै उहाँको कृति लघुकथा प्रकृया र पाठ परिवतित संस्करणको प्रकाशनले लघुकथाकारलाई फाइदा पुग्ने बताउनुभयो ।
स्रष्टा अश्कले कुनै पनि विषय वा वस्तुलाई हेर्ने दृष्टिकोण स्थान र परिवेशले पनि निर्धारण गर्छ भन्नुहुदै अन्य विद्यामा जस्तै लघुकथामा पनि आफूले नेपाली लघुकथाको अध्ययनलाई ध्यानमा राखेर यसको दायरा फराकिलो पार्न अवधारणा र पाठसहित पुस्तक तयार पारेको बताउनुभयो ।

कार्यक्रममा लघुकथाकारहरु आर आर चौलागाइँ, ममता मृदुल र दीपक लोहनीले स्रष्टा अश्कका कृतिमा भएका विशेषता र कमजोरीका बारेमा जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रम समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको थियो ।