डिजी शर्मा, झापा । पत्रकार तथा लेखक सुधीर शर्माको भर्खरै बजारमा आएका दुई कृति “भिक्षु, व्यापार र विद्रोह” र “हिमालपारिको हुरी” माथि शुक्रबार झापाको बिर्तामोडमा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
कृति प्रकाशक “किताब पब्लिसर्स” द्वारा बिर्तामोडस्थित सिद्दार्थ होटल ग्रान्ड सिटीमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार तथा समालोचक मिश्र बैजयन्तीले लेखक शर्माका कृतिमाथि समालोचनात्मक टिप्पणी राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै साहित्यकार बैजयन्तीले नेपाल र चीन बीचको सम्बन्धका बारेमा इतिहासदेखि वर्तमानसम्मका कुराहरु तथ्यपरक रुपमा यसमा समेटिएकोले विशेषगरी राज्यका नीति निर्माण तहमा बसेका व्यक्तिहरुले यी दुई कृति पढ्नु आवश्यक रहेको बताउनु भयो ।
यात्रासँग सम्बन्धित र सोध, अनुसन्धानात्मक कृति भएकोले साहित्यिक कृतिहरुको भिडमा यस किसिमका कृतिहरु आउनु जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
करिब एक घण्टासम्म चलेको बहसमा सागर शिवाकोटीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित दर्शकहरुबाट समेत आएका जिज्ञासाहरुलाई सम्बोधन गर्दै लेखक शर्माले “भिक्षु, व्यापार र विद्रोह” कृतिभित्र नेपाल, चीन र भारत बीचको इतिहास र त्यससँग जोडिएका रोचक तथ्यहरु समेटिएको जानकारी गराउनु भयो ।
त्यसैगरी “हिमालपारिको हुरी” कृतिभित्र भने नेपालमा गणतन्त्र स्थापनापछि नेपाल र चीनबीचको सम्बन्धका बारेमा उल्लेख गरिको उहाँले बताउनु भयो । यी दुबै कृतिलाई किताब पब्लिसर्सले गत भदौमा एकसाथ प्रकाशनमा ल्याएको थियो ।
पूर्वी नेपालको यात्रामा रहनुभएका लेखक शर्माका यी दुई कृतिमाथि मङ्सिर २९ गते इटहरी र मङ्सिर ३० विराटनगरमा विमर्श कार्यक्रम राखिएको पत्रकार कल्पना ढकालले जानकारी गराउनु भयो । दुई दशकभन्दा लामो समय पत्रकारितामा बिताउनु भएका लेखक तथा पत्रकार शर्माको यसअघि २०७० सालममा अनुसन्धानात्मक कृति “प्रयोगशाला” प्रकाशित छ ।
झापाको धुलाबारीमा जन्मनुभएका लेखक शर्माले करिब डेढ दशक कान्तिपुर दैनिकको प्रधान सम्पादक भएर काम गरिसक्नुभएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।